अखेटोपहारको अनुगमनमा वन मन्त्री सापकोटा

चितवन, असार १२–
वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले अखेटोपहारको नमुना राखेर अन्य नष्ट गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वी चितवनको टिकौलीस्थित सशस्त्र वनरक्षक तालिम केन्द्रमा भण्डारण गरिएको अखेटोपहारको आज बिहान निरीक्षण गर्दै उहाँले सबैअखेटोपहारको नमुना लिएर केही विशेषलाई अध्ययन अवलोकनका लागि राखिने र अन्यलाई नष्ट गर्न प्रस्ताव गरिने जानकारी दिनुभयो । वन विभाग अन्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार टिकौलीमा र निकुञ्ज विभाग अन्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार कसरामा भण्डारण गरिएको छ । ती अखेटोपहारको नमुना लिएर ‘कोडिङ’ गरी व्यवस्थापन गर्ने काम भइरहेको छ । कसरामा नमुना लिने र बारकोडिङ गर्ने काम सम्पन्न भएको छ भने टिकौलीमा सुरु भएको छ ।
सो अवसरमा उहाँले भन्नुभयो, “जुन काम भइरहेको छ, त्यसबाट म सन्तुष्ट छु । यो वैज्ञानिक र पारदर्शी ढङ्गबाट नै हुन्छ ।” मन्त्री सापकोटाले यो राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय भएकाले राष्ट्रको इज्जत रहने गरी काम गरिने बताउनुभयो । अखेटोपहारको मौद्रिक मूल्य नभएको बताउँदै उहाँले यसको व्यवस्थापन वन्यजन्तुको चोरी, सिकार र अपराध नियन्त्रणमा कोसेढुङ्गा साबित हुने बताउनुभयो ।सो अवसरमा वन सचिव उदयचन्द्र ठाकुर, वन विभागका महानिर्देशक गौरीशङ्कर तिमला, निकुञ्ज विभागका उपमहानिर्देशक डा महेश्वर ढकाल लगायतको टोलीले बार कोडिङ हुँदै गरेको अखेटोपहारको निरीक्षण गरेका हो । टिकौलीमा रहेको आखेटोपहारको बार कोडिङ र नमुना लिने कार्य एक हप्ताभित्र सम्पन्न हुने छ ।
लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एकसिँगे गैँडाको खाग, पाटेबाघको छाला, जङ्गली हात्तीका दाह्रा लगायत जीवजन्तुका अङ्ग सङ्कलन गरी कसरा र टिकौलीमा भण्डारण गरिएको छ । जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ ।
त्यस्तै, तस्करबाट बरामद भएका अङ्ग पनि सङ्कलन हुने गरेका छन् । सरकारले टिकौलीमा २०५४ सालमा केही आखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अङ्ग सुरक्षित भण्डारण गरिएको छ । दुवै ठाउँमा गरेर गैँडाका ३६९ खाग, पाटेबाघका ६९ छाला, जङ्गली हात्तीका १८५ दाह्रा, चितुवाका ४९३ छाला, कस्तुरी मृगका ३६ थान बिना लगायत वस्तु सङ्कलन गरिएको छ । बहुमूल्य गैँडाको खागमध्ये २५३ कसरामा तथा ११६ वटा टिकौलीमा छन् । अन्य महत्वपूर्ण वन्यजन्तुको आखेटोपहार पनि भण्डारण गरिएको छ जसमा विभिन्न जनावरका १११ थरिका अङ्ग भण्डारण गरिएको छ ।
चितवनमा बाघ, गैँडा, चितुवा, भालु, माछा प्रजाति, मृग लगायत सात प्रकारका जनावर र जलचरको आखेटोपहार सङ्कलन हुने गरेको छ । जनावरको आखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ । रासस
तपाइँको प्रतिक्रिया