अख्तियार प्रमुख बारे संसदमा छलफल हुनुपर्छ: मन्त्री थापा

राजेन्द् आचार्य
चितवन, ०६ असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुका विषयमा संसदमा छलफल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले अख्तियारका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसदमा छलफल नै गर्न हुँदैन भन्ने मानसिकता गलत भएको बताए । उनले भने “संसदमा प्रधानमन्त्री, राष्ट्रपतिको आचरणको बारेमा छलफल गर्न मिल्ने तर तत्थ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तहरुको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत हो ।”
उनले उनीहरुमाथि महाअभियोग लगाउने वा नगलगाउने भन्ने विषय संसदमा छलफल भईसकेपछि निष्कर्षमा पुग्ने विषय भएको बताए । आफू सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसदमा दर्ता गराएको स्मरण गराउँदै थापाले अहिले आफू जिम्मेवार मन्त्री पदमा रहेकाले यस विषयमा अन्य सांसदहरुले विषय उठान गर्दा राम्रो हुने बताए ।
चिकित्सा क्षेत्रको अनियमितताको विषयमा समेत अख्तियारको संलग्नता रहेको विषय उठेको भन्दै मन्त्री थापाले यसको छानविन गर्नुपर्ने बताए । अख्तियार प्रमुखको सर्वाेच्च अदालतमा समेत छलफलको विषय बनेको बताउँदै मन्त्री थापाले सर्वाेच्चले सरकारलाई दिर्नेशन दिईसकेकोले सरकारले त्यसको पालना गर्नुपर्ने बताए ।
माओवादी लडाकुको शिविरको अनियमितताको विषयमा पनि छलफल गर्नुपर्ने मन्त्री थापाले बताए । उनले भने “यो विषय संवैधानिक निकायमा छलफलको विषय बनेकाले यस विषयमा जुन ठाउँमा छलफल हुनुपर्ने हो, त्यहाँ छलफल हुन्छ ।”
मन्त्री थापाले डाक्टर गोविन्द केसीका अधिकांश मागका सम्बन्धमा सरकार सकारात्मक रहेको बताए । उनले भने “एकैपटक माग पूरा हुन नसकेपनि चरणबद्ध रुपमा माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।”
चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भईसकेको बताउँदै मन्त्री थापाले ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिईने बताए । मनमोहन स्मृति प्रतिष्ठानले संचालन गरेको कलेजको सम्पत्ति वीर अस्पतालले खरिद गर्ने सम्झौता भईसकेको बताउँदै मन्त्री थापाले वीर अस्पताल अन्तर्गत रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरामा आफूले प्रस्ताव गरेको बताए ।
सातै प्रदेशमा एक एक वटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएको जानकारी दिंदै मन्त्री थापाले लाथालिङ र भताभुङ अवस्थामा रहेको स्वास्थ्य क्षेत्र सुधारका लागि तलदेखि माथिसम्म सुधार गर्ने बताए ।
फरक प्रसंगमा मन्त्री थापाले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको व्यवस्थापकीय त्रुटी, अनियमितता, स्रोत र साधनको उपयोग नभएको भन्दै यसको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने “कुनै रंग र झण्डा बोकेको भएपनि क्यान्सर अस्पतालमा त्यस छुट पाउँदैन, अनियमितता र गलत काम गर्नेलाई कारवाही हुन्छ ।”
तपाइँको प्रतिक्रिया