अत्याधिक दुर्घटना हुने दुम्कीवासदेखि बर्दघाटसम्मका घुम्तीहरूमा कन्भेक्स मिरर जडान कार्य शुरु

माघ-३ पूर्वश्चिम राजमार्गका अत्याधिक दुर्घटना हुने दुम्किवासदेखि बर्दघाटसम्मको १५ किलोमीटरको दुरीमा र गैडाकोटको थुम्सी जंगलको घुमाउरो सडकलाई मध्यनजर गर्दै कन्भेक्स मिरर राख्न थालनी गरिएको छ । सवारी दुर्घटना कम गर्नका लागि कन्भेक्स मिररले सहयोग पुर्याउने भएकाले अत्याधिक दुर्घटना हुने दुम्कीवासदेखि बर्दघाटसम्मका घुम्तीहरूमा कन्भेक्स मिरर जडान कार्य शुरु भएको छ । आईतवार जिल्लाको दाउन्नेमा एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले मिरर जडान कार्यको उद्घाटन गरेका छन । प्रथम चरणमा दाउन्नेदेखि बर्दघाटसम्मको घुम्तीहरूमा कन्भेक्स मिरर जडान गरिने छ भने दोश्रो चणमा गैडाकोटको थुम्सीमा जडान गरिने छ । पहिलो चरणमा ५० वटा मिरर जडान गरिने प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए । आईतवार एउटा मात्रै मिररको जडान कार्य भएको छ भने सोमवारदेखि काम जारिरहने रानाले बताए ।मिरर खरिदका लागि जिल्ला प्रशाशन कार्यालयको सवारी दुर्घटना कोष, बस व्यवसायी समितिहरू, उद्योग वाणिजय संघ, जिल्लाका विभिन्न नगरपालिका, गाविहरूले सहयोग गरेको रानाले बताए । १० वटा मिरर दुर्घटना कोषबाट खरिद गरिएको र अन्य विभिन्न संघसंस्थाको सहयोगमा खरिद गरिने रानाले बताए बताए । एउटा मिररको १७ हजार ५ सय लागत लागेको जानकारी दिदै रानाले ५० वटा जडान गर्दासम्म करीब १० लाख रुपैयासम्म लाग्ने बताए । दुर्घटना न्यनिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिए पनि न्यनिकरण हुन नसकेकाले यसरी मिरर जडान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख राजेन्द्र प्रसाद चौधरीले बताए । सवारी चलाउदा ठूला मोड आयो र विपरित दिशाबाट सवारी आएको छ छैन जान्न कन्भेक्स मिररले सहयोग पुर्याउने चौधरी बताउछन ।‘कन्भेक्स मिरर जडान गरेपछि दुवैतर्फबाट आएका विपरित दिशाको सवारीलाई प्रष्ट देख्न सकिन्छ त्यसलाई हेरेर चालकले सवारी साधनको गति नियन्त्रण गर्न सक्छ जसबाट संभावित दुर्घटनाबाट जोगिन सकिन्छ ।’ चौधरीले भने । पहिलो चरणको मिरर जडान कार्य एक महिनाभित्र सकिने र केही समयपछि गैडाकोटको थुम्सीमा पनि जडान कार्य हुने चौधरीले बताए । जंगल र पहाडी क्षेत्रका घुम्ती मात्रै नभई राजमार्गका अन्य स्थानका घुम्ती तथा सुनवल परासी, भुमहि परासी र बर्दघाट त्रिवेणी सडक खण्डका घुम्तीहरूमा पनि मिरर जडान गर्ने लक्ष्य लिईएको चौधरीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया