अबको पाँच वर्षसम्म विश्व अर्थतन्त्र वार्षिक ३ प्रतिशत हाराहारी मात्र हुने आईएमएफको प्रक्षेपण

२४ चैत, काठमाडौं ।
विश्वको अर्थतन्त्र वृद्धि सन् १९९० यताकै कमजोर स्थितिमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बताएको छ । अबको पाँच वर्षसम्म विश्व अर्थतन्त्र वार्षिक ३ प्रतिशत हाराहारी मात्र हुने आईएमएफको प्रक्षेपण छ ।
विश्व अर्थतन्त्रको आगामी बाटो कठिन र धुमिल छ । यो परिस्थिति हटाउनका लागि विश्व शक्तिबीचको सहकार्य आवश्यक पर्नेमा सहकार्यको परिस्थिति झन् जटिल बन्दै गएको र आर्थिक स्थिति कमजोर भएका मुलुकहरूलाई शक्ति राष्ट्रले सहयोग गर्नुपर्ने आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले बताउनुभयो ।
कोरोना महामारीपछि अर्थतन्त्रलाई सुधार गर्न र युक्रेन युद्धपछिको स्थितिलाई लयमा फर्काउन लागि आईएमएफले ऋणको पुनर्संरचना आवश्यक रहेको बताएको छ । यसका लागि शक्ति राष्ट्रहरूले सहयोग बढाउनुपर्ने कोषको भनाइ छ ।
गत वर्ष विश्व अर्थतन्त्रको वृद्धि प्रतिशत ३ दशमलव ४ प्रतिशत थियो । यो दुई दशकयताकै न्यून हो । सन् २०२३ मा चीन र भारतको अर्थतन्त्रमा वृद्धि हुने हुँदा त्यसले कुल वृद्धिको आधा प्रतिशत ओगट्ने आईएमएफको भनाइ छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धि ३ प्रतिशत पुग्दा ९० प्रतिशत उन्नत अर्थतन्त्रमा गिरावट आउने आईएमएफको भनाइ छ । केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदा यो स्थिति आएको उसको जिकिर छ ।
तपाइँको प्रतिक्रिया