अब छिट्टै काँग्रेस नेतृत्वको सरकार निर्माण हुन्छ : एमाले महासचिव पोखरेल

काठमाडौँ, फागुन १८
एमाले महासचिव शंकर पोखरेलले अब छिट्टै कांग्रेस नेतृत्वको सरकार निर्माण हुने बताएका छन् । फागुन २५ मा राष्ट्रपति चयन भए लगत्तै कांग्रेस नेतृत्वको सरकार निर्माण हुने अवस्था सिर्जना हुने दाबी गरेका हुन् ।
महासचिव पोखरेलले एक समाचार अनलाइनलाई अन्र्तवार्ता दिँदै संविधानको प्रावधान अनुसार नै कांग्रेसलाई सरकार निर्माण गर्ने अवसर प्राप्त हुने बताएका हुन् । पोखरेलले अहिले बनेको गठबन्धनको अन्तर्य र संभावित राजनीतिक परिदृश्यबारे बोल्दै काँग्रेस पुष्पकमल दाहालको आदेश मानेर तीन वर्षसम्म बस्न नसक्ने पनि उल्लेख गरे ।
२५ गते राष्ट्रपति चयन भइसकेपछि के हुन्छ ? भन्ने प्रश्नमा महासचिव पोखरेलले भने, ‘कांग्रेसका लागि माओवादी बोकिरहनुपर्ने बाध्यता हुँदैन । किनभने माओवादी कांग्रेसले छोड्यो भने कांग्रेसको नेतृत्वको सरकार बन्छ । संविधानले त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ । ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार कांग्रेसको हुन्छ । आफ्नो हातमा आएको सरकार छोडेर पुष्पकमल दाहाल प्रचण्डको आदेश मानिरहने कुरा साढे तीन वर्षसम्म कांग्रेसका लागि स्वीकार्य होला त ?’
उनले त्यस्तो अवस्थाबारे २५ गते पछि एमालेले सोच्ने बताए । ‘के गर्ने भन्ने कुरा २५ गतेपछि हामी सोचौंला । अहिले त पुष्पकमल दाहालको जे प्रवृत्ति छ त्यो प्रवृत्ति मुलुकका लागि कति नोक्सानदायी रहेछ भन्ने कुरा माओवादी स्वयंलाई अनुभूत हुन दिनु प¥यो नि ! एमालेका कारण पुष्पकमल दाहालले दुः ख पाए भन्ने हामी देखाउन चाहन्नौं । पुष्पकमल दाहाल हिँडेको बाटाका कारण उनी दुर्घटनामा परे भन्ने देखाउन चाहन्छौं ।’
तपाइँको प्रतिक्रिया