अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँद्धारा सफाइ

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।
नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।
जिल्ला अदालत तनहुँले अभियोगमा दाबी नपुग्ने भनेको छ। यसको अर्थ बलात्कारको मुद्दाबाट सफाई दिएको भन्ने हो।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।
गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
तपाइँको प्रतिक्रिया