अमेरिकाको स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

१४ चैत, काठमाडौं ।
अमेरिकामा स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको जनाईएको छ ।
एक युवतीले न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् ।
विद्यार्थी र शिक्षिकाहरुसहित गोली लागेर स्कुलका ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् ।
कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् ।
प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।
तपाइँको प्रतिक्रिया