आइओसीले नेपाललाई रक्सौल डिपोबाट हवाइ इन्धन दिने

भारतीय आयल कर्पोरेशन (आइओसी) ले नेपाललाई रक्सौल डिपोबाट हवाइ इन्धन दिने भएको छ । आइओसीले केही समयमपछि पेट्रोल र डिजेल पनि रक्सौलबाट दिने आश्वसन दिएको छ । वीरगञ्ज बाहेकको अन्य नाकाबाट लैजान सक्ने गरीसक्ने गरी हवाइ इन्धन दिन आइओसी तयार भएको हो । रक्सौल डिपोमा भरिएको तेल वीरगञ्ज नाकाबाट ल्याउन सम्भव नभएपनि सुनौलीबाट ल्याउन सकिने निश्कर्ष निकाल्दै नेपाल आयल निगमले रक्सौल डिपोबाट तेलको लोडिङ दिन आइओसीलाई अनुरोध गरेको थियो । त्यसको जवाफमा आइओसीले रक्सौलबाट तत्काल हवाइ इन्धन मात्र दिन सकिने बताएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । अहिले नेपाललाई तेल दिइरहेका भारतको सिलगुढी, बरौनी, गोण्डा, बेतालपुर र वनथरा डिपोले ठूलो परिमाणमा तेल दिन सक्दैनन् । तिनको भण्डारण क्षमता ठूलो नभएकाले ती डिपोबाट ठूलो मात्रामा लोडिङ बढाउन नसकिएको आयल निगमको दावी छ । मधेसी मोर्चाको अवरोधका कारण नेपाललाई सबैभन्दा बढी तेल दिने रक्सौल डिपोबाट अहिले आइओसीले नेपाली ट्यांकरलाई लोड दिएको छैन । यसअघि भारतीय पक्षको अवरोधका कारण अन्य डिपोबाटै ल्याएका तेल पनि नाकामै रोकिने गरेका थिए । अहिले सबै नाकाबाट इन्धन सहज रुपमा आउन थालेपछि तेलको थप आयात बढाउन रक्सौल डिपोबाट पनि तेल ल्याउन आयल निगमले पहल गरेको हो । आयल निगमको पहलपछि आइओसीले हवाइ इन्धन रक्सौलबाट दिन सकिने जवाफ प्रवक्ता घिमिरेले बताए । तर, डिजेल, पेट्रोल र मटितेल रक्सौलबाट दिन भारतीय पक्ष अहिलेसम्म इच्छुक देखिएको छैन । आइओसीले पहिलो चरणमा दिनको ७र८ ट्याकंर हवाइ इन्धन दिएर रक्सौल डिपोबाट पनि तेलको लोडिङ सुरु गर्ने संकेत गरेको छ ।रक्सौलमा मौज्दात रहेको ७ हजार किलोलिटर हवाइ इन्धन दिन आइओसीका अधिकारी सहमत भएका हुन् । त्यो हवाइ इन्धन सुनौली नाका हुँदै नेपाल ल्याउने निगमको योजना छ ।
तपाइँको प्रतिक्रिया