आजदेखी विजय खवर साप्ताहीक पत्रिकाको शुभारम्भ

पुरुषोत्तम सुबेदी,नवलपरासी , २४ कार्तिक।नवलपरासीको गैंडाकोटबाट आजदेखी विजय खवर साप्ताहीक पत्रिकाको शुभारम्भ भएको छ । नवलपरासीमा नै पहिलो सामुदायीक रेडियो बिजय एफ एम १०१.६ सञ्चालन गरेको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले विजय खवर साप्ताहीक पत्रिका प्रकाशन गरेको हो । मंगलबार आज नवलपरासी क्षेत्र नं. १ का सांसद प्रा. डा. शंशाक कोइराला, क्षेत्र नं. ३ का सांसद कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले पत्रिकाको सामुहिक रुपमा लोकार्पण गर्नुभएको हो । लोकार्पण कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले विजय विकास स्रोत केन्द्रद्धारा प्रवर्धित संस्थाद्धारा प्रकाशित भएको कारणले पनि यस पत्रिकाको स्थायित्व र गुणस्तरीयता बढ्दै जाने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नवलपरासी क्षेत्र नं. १ का सांसद तथा प्रमुख अतिथि डा. शंशाक कोइरालाले सूचनाको हकको सिद्धान्तमा टेकेर सूचना प्रदान गर्न बिजय खबर सक्षम रहने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले बिजय परिवारबाट आफु प्रभावित रहेकाले यो पत्रिका सुचनाको संबाहक बन्ने बिश्वास ब्यक्त गर्नुभयो । नवलपरासी क्षेत्र नं. ३ का सांसद तथा विशिष्ट अतिथि कृष्ण पौडेलले हिजो आजका सञ्चार माध्यममा सामन्ती सूचनाको ब्यवस्था भएकोले यसबाट सजग भएर अघि बढ्न सुझाब दिनुभयो । पौडेलले मुलुकको परिवर्तनको लागि आर्थिक तथा भौतिक विकासको आवश्यकता भएकोले सञ्चारमाध्यमले यस तर्फ जोड दिनुपर्ने बताउनुभयो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले विजय खबर सधैँ प्रत्येकको घरघर पुग्न सकेको खण्डमा यसले विश्वसनियता कायम गर्ने बताउनुभयो ।
पत्रिका लोकार्पण कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष एंव विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सस्ंथापक अध्यक्ष खेमराज सापकोटा, समाजसेबी तिलक प्रसाद सापकोटा, पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले सामाजिक विकासमा पत्रिकाले महत्वपूर्ण योगदान दिने भन्दै विकास पत्रकारीताको सिद्धान्तमा टेकेर अगाडि बढ्न बिजय खबर पत्रिकालाई सुझाब दिनुभयो । विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्योति पौडेलले विजय खबर पत्रिकालाई स्थायित्व प्रदान गर्न कुनैपनि कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । पौडेलले यसै आर्थिक बर्ष भित्रमानै विजय खबर पत्रिकालाई साप्ताहिकबाट दैनिक पत्रिका बनाउने उद्घोष समेत गर्नुभयो । बिजय बिकाश स्रोतकेन्द्रको सभाहलमा भएको लोकार्पण कार्यक्रममा नवलपरासी र चितवनका बिभिन्न संघसंस्थाका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया