आज ऐतिहासिक दिन संविधान दिवस, विविध कार्यक्रम गरि मनाईदै

काठमाडौं, असोज ३
आज ऐतिहासिक दिन संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको थियो । संविधान जारी गर्नेमा तत्कालीन राष्ट्रपति रामवरण यादव हुनुहुन्थ्यो । यो विशेष दिन संविधान दिवस विविध कार्यक्रमहरु गरि देशैभर मनाइँदैछ ।
संविधान दिवस मूल समारोह समितिले राजधानीमा दिवसका अवसर पारेर आज सोमबार विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।
दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ ।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।
तपाइँको प्रतिक्रिया