आज विश्वकर्मा पूजा, सवारीसाधन, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं, असोज १
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।
हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् ।
विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।
रासस
तपाइँको प्रतिक्रिया