आज विश्व जनसंख्या दिवस

२७ असार,
विश्व जनसंख्या दिवस सोमबार नेपालमा पनि ‘सुखद भविष्यका लागि किशोरीमा लगानी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कार्यकारी परिषदबाट अनुमोदन भएपछि हरेक वर्ष जुलाई ११ तारिखमा विश्व जनसंख्या दिवस मनाउने गरिएको हो । विश्वमा दिन प्रतिदिन बढ्दै रहेको जनसंख्याको सही व्यवस्थापन अहिलेको चुनौती बनेको छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय ४ रहेको छ । नेपालको जनसंख्या वृद्धिदर १ दशमलब ३५ प्रतिशत छ ।
जनसंख्या व्यवस्थापनका लागि नेपालमा जनसंख्या तथा विकास सम्बन्धी २० बर्षे दीर्घकालीन योजना र राष्ट्रिय जनसंख्या नीति २०७१ कार्यान्वयनमा रहेको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वकान्त ओलीले जानकारी दिए।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ग्रामीण भेगमा परिवार नियोजन तथा स्वास्थ्य सेवाहरु सन्तोषजनक नहुनु, आन्तरिक तथा बाह्य बसाइसराई उच्च हुनु, आश्रित जनसंख्याको अनुपात बढ्दै जानुलगायतका कारणले जनसंख्या व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् ।बाल विवाहको अन्त्यका लागि समाजमा जनचेतना जगाउनु आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन् ।
जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले उमेर नपुग्दै हुने विवाहले गर्दा मातृ मृत्युदर बढ्ने तथा किशोरीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले किशोरीहरुको समग्र विकास, परिचालन र संरक्षणमा देशले अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
तपाइँको प्रतिक्रिया