आदिवासी जनजातिलाई उच्च प्राथमिकतामा राखेर भरतपुरमा कामगर्ने नव निर्वाचित मेयर उपमेयरको उदघोष

सन्तकुमार चौधरी, चितवन २५ साउन ।
२३ औं विश्व आदिवासी दिवसलाई चितवनका आदिवासी जनजाति समुदायले पनि भव्यताका साथ मनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ चितवनले नारायणगढ स्थित नारायणी कला मन्दिरमा एक भव्य कार्यक्रम गरेर २३ औं विश्व आदिवासी दिवस धुमधामका साथ मनाएको छ ।
संविधान संशोधनको विषयलाई संवोधन गराउनदवाव दिने उद्देश्यले आन्दोलनकै स्वरुप अन्तर्गत आयोजना गरिएको कार्यक्रममा भरतपुर महानगरपालिकाका नव निर्वाचित मेयर ÷ उपमेयर प्रमुख अतिथि र विशिष्ठ अतिथिको रुपमा सहभागी थिए । कार्यक्रमलाई संवोधन गर्दै भरतपुर महानगरपालिकाका नव निर्वाचित मेयर रेणु दाहालले आदिवासी जनजाति समुदायको हक अधिकारलाई उच्च प्राथमिकतामा राखेर आफुहरुले कामगर्ने बताउनुभयो । परिवर्तनका लागि लामो समय देखि संघर्ष गर्दैआएका आदिवासी जनजाति समुदायको पीडालाई आफुहरु महसुस गर्न सक्नेभएका कारण आदिवासी जनजाति समुदायको हितकै पक्षमा कामगर्ने आश्वासन दिनुभयो । उहाँले दुई चेली मिलेर भरतपुरलाई देशकै नमुना महानगरपालिका बनाई छाड्ने दावी समेत गर्नुभयो
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी नव निर्वाचित उपमेयर पार्वती शाहाले समग्र महानगरको विकासका लागि आफुहरुलाई विश्वास गर्न आग्रह गर्नुभयो । महिलाले केही पनि गर्न नसक्ने मानसिकतालाई चिर्नका लागि आफुहरु आफ्नो इमान्दारिता देखि कहिलै पछि नहट्ने समेत उद्घोष गर्नुभयो ।
कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायको पहिचान झल्कीने भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, तमु छोंज धिका केन्द्रीय उपाध्यक्ष कर्णवहादुर गुरुङ, नेपाल बार एशोसिएसन चितवनका अध्यक्ष गोपिलाल देवकोटा, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति विश्राम महतो, किरात राई याक्खाका ढंकमान राई, नेपाल आदिवासी जनजाति महासंघका हरि पुन, रामवहादुर भुजेल, आदिवासी जनजाति महिला महासंघ चितवनकी अध्यक्ष भैंखु गुरुङ, फोनिज चितवनका अध्यक्ष सन्दीप श्रेष्ठ लगायतले आदिवासी जनजाति आन्दोलन र प्राप्त उपलव्धीको विषयमा बोलेका थिए ।
तपाइँको प्रतिक्रिया