आन्तरिक पर्यटकलाई निम्ता बाँड्दै सौरेलीहरु देश दौडाहामा

बिबेक भण्डारी माघ १९, चितवतनको सौराहाका पर्यटन व्यवसायीहरु मंगलवार देखि आन्तरिक पर्यटकलाई निम्ता बाँड्दै देश दौडाहामा लागेका छन् । प्रणय दिवसको अबसर पारेर चितवनको रत्ननगर स्थित पर्यटकिय नगरी सौराहामा यही माघ २८ गतेदेखि शुरु हुन लागेको खाना महोत्सवको प्रचार स्वरुप व्यवसायीहरु आजदेखि नवलपरासीबाट देशदौडाहा शुरु गरेका छन् । भुकम्पपछि प्रभावित भएको पर्यटन व्यवसाय विस्तारै उकासिंदै गएका बेला आन्दोलन र नाकाबन्दीले प्रभावित भएको भन्दै महोत्सव मार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पर्यटकलाई निम्ता बाँड्न देश दौडाहामा लागेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिनुभयो । खाना महोत्सवको प्रचार स्वरुप आज विहान नवलपरासीको कावासोतीमा पत्रकार सम्मेलन नै गरेर पर्यटकलाई सौराहामा निम्ता दिन शुरु भएको कार्यक्रम संयोजक नरेश गिरीले जानकारी दिनुभयो । यसपछि लगातार रुपन्देशी ,काठमाडौ, पोखरा मकवानपुर लगायत क्षेत्रमा समेत कार्यक्रम गरेर आन्तरिक पर्यटकलाई निम्ता बाँड्ने गिरीले बताउनुभयो । चितवनको सौराहामा यही माघ २८ देखि फागुन ३ सम्म १० औं सौराहा फुड फेष्टिवलको आयोजना गरिएको छ । महोत्सव प्रचारका लागि देश दौडाहामा रेवान अध्यक्ष राजन भट्ट र महोत्सव संयोजक नरेश गिरी सहित फुड फेष्टिवलका प्रचार संयोजक कपिल रेग्मी, रेवानका पुर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, फेष्टिवलका झाँकी व्यवस्थापन समिति संयोजक शीरलाल परियार, सचिवालय संयोजक नविन नेपाल र पर्यटन प्रवद्र्धन समिति बाघमाराका उपाध्यक्ष सजना महत्तो सहभागि हुनुहुन्छ । यसपटक महोत्सवबाट आएको आम्दानी मध्ये केही रकम उज्यालो सौराहामा खर्च गरिने छ । यस्तै सडक बालबालिका तथा बालश्रम न्युनिकरणका लागि १०,१० प्रतिशत रकम उपलव्ध गराउने आयोजकले जनाएको छ । केही प्रतिशत खेलकुद र स्थानिय सामाजिक संस्थालाई समेत सहयोग गर्ने जनाईएको छ । यसपटक खाना महोत्सवका क्रममा हात्ती सफारी, डुंगा सयर,साँस्कृतिक कार्यक्रम, वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, गृहिणी विच नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, पर्यटक दौड र पत्रकार विच चिचर खाने प्रतियोगिता आयोजना गरिने छ । यस्तै दुना टपरी गाँस्ने प्रतियोगिता, पानी पिउने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता समेत सो क्रममा आयोजना गरिने आयोजकले जनाएको छ । खाना महोत्सवका क्रममा यसपटक सौराहामा आएका पर्यटकलाई होटल तथा खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाईएको छ । यस्तै महोत्सव स्थलमा बृकिंग भएमा निकुञ्ज जीप सफारीमा पुरा दिन ७००, आधा दिन पाँच सय र प्रतिव्यक्ति १०० रुपैयाँ छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सव परिसरमा युनाईटेड हात्ती सञ्चालन सहकारी मार्फत बुक गराएका पर्यटकलाई हात्तीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताउनुभयो । साना पर्यटन व्यवसायीहरुले समेत २० प्रतिशत छुटदिने घोषणा गरेको छ ।
तपाइँको प्रतिक्रिया