आन्तरिक राजस्व कार्यालय भरतपुर उत्कृष्ट,२०७२/७३ मा लक्ष्यभन्दा बढी राजश्व संकलन

चितवन, साउन ०८ । कार्यसम्पादन परिसूचकका आधारमा आन्तरिक राजश्व कार्यालय भरतपुर देशभरका ४९ वटा कार्यालयहरु मध्ये उत्कृष्ट भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माका अनुसार प्रारम्भिक तथ्यांकका आधारमा भरतपुर उत्कृष्ट भएको हो । शर्माका अनुसार दोस्रोमा आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर र तेस्रोमा बुटवल भएका छन् । राजश्व विभागले कार्यसम्पादन परिसूचक तोकेको हुन्छ । मुख्य परिसूचक राजश्व संकलन हो भने अन्य परिसूचकमा बक्यौता असुली, बेरुजु फछ्र्याैट, करदाता शिक्षा कार्यक्रम, करको दायरा विस्तार, आय विवरण प्राप्ति, छानविन, बजार अनुगमन, गोदाम परीक्षण, अनुसन्धान, पूर्णकर परीक्षण, थप कर लगायतका पर्दछन् । ती परिसूचकहरुमा अगाडि परेसँगै भरतपुर उत्कृष्ट भएको शर्माले बताएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले ११ अर्ब ९२ करोड ५७ लाख २९ हजार रुपैयाँ लक्ष्य लिएकोमा १२ अर्ब १६ करोड ५६ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । यो लक्ष्यको १०२ दशमलब ०१ प्रतिशत हुन आउँछ । यो रकम अघिल्लो आर्थिक वर्षभन्दा २ अर्ब २० करोड १७ लाख ३३ हजार रुपैयाँ बढी हो । कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्यको १ सय ७ दशमलब २१ प्रतिशत राजश्व संकलन गरेको कार्यालयका प्रमुख टिकाराम भुषालले बताए ।
उक्त आर्थिक वर्षमा ९ अर्ब २९ करोड ४१ लाख ५८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ अर्ब ९६ करोड ३९ लाख २१ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले दिएको जानकारी अनुसार आयकर तर्फ ९६ करोड ६२ लाख ९८ हजार रुपैयां, घरबहालकर तर्फ सात करोड ४२ लाख ७४ हजार रुपैयां, व्याजकर तर्फ ५ करोड ४९ लाख ४६ हजार, मूल्य अभिबृद्धि (भ्याट) तर्फ ७५ करोड १९ लाख ६६ हजार, अन्तशुल्क तर्फ १० अर्ब २५ करोड ९ लाख ९४ हजार, स्वास्थ्य सेवा करतर्फ ४ करोड ८२ लाख २० हजार र शिक्षा सेवाकरतर्फ १ करोड ८९ लाख ५५ हजार राजश्व संकलन भएको कर अधिकृत गुणराज पोखरेलले बताएका छन् ।
कार्यालयले स्वास्थ्य सेवा करमा भने लक्ष्यको ४५ दशमलब १३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । १० करोड ६८ लाख ५१ हजार रुपैयाँ स्वास्थ्य सेवा कर उठाउने लक्ष्य लिएको कार्यालयले ४ करोड ८२ लाख २० हजार रुपैयाँ मात्रै संकलन भएको छ । यहाँका दुई मेडिकल कलेजले ठूला करदाता कार्यालय काठमाण्डौंमा कर बुझाएका कारण यहाँको स्वास्थ्य सेवा कर घटेको कर अधिकृत पोखरेलले बताएका छन् । भूकम्प र भारतीय नाकाबन्दीका कारण यो आर्थिक वर्षको शुरुवाती महिनाहरुमा निकै कम राजश्व संकलन भएपनि पछिल्लो महिनाहरुमा पनि लक्ष्यभन्दा बढी राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षमा करदाताको संख्या बृद्धि भएकोले पनि लक्ष्यमा पुग्न सकिएको कार्यालय प्रमुख टिकाराम भुषालले बताएका छन् । भुषालका अनुसार व्यक्तिगत करदाता ३ हजार १ सय २४ र व्यवसायिक करदाता २ हजार २ सय ६४ थपिएका छन् । यो अवधिमा २ हजार ६ सय ५५ वटा अन्तशुल्क लाग्ने मदिराका लाईसेन्स नविकरण र दर्ता भएका छन् । त्यसैगरी २२ हजार करदाताले आयकर बुझाएको भुषालले बताएका छन् ।
तपाइँको प्रतिक्रिया