आफ्नो कला संस्कृति संरक्षणका लागि नयाँ पुस्ता जुरमुराउनुपर्ने

चितवन, असोज २
आफ्नो कला संस्कृति संरक्षणका लागि नयाँ पुस्ता जुरमुराउनुपर्ने एककार्यक्रमका सहभागीहरुले बताएका छन् । पूर्वी चितवनको रत्ननगर ४ देवौलीमा आयोजना गरिएको जितिया विशेष कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन । प्रदेश सांसद कृष्ण खनालले नयाँ पुस्ता अग्रसर नभए सम्म संस्कृति संरक्षणमा चुनौती नै रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद खनालले संस्कृति राष्ट्रको गहना भएकाले संरक्षणमा सरकारले समेत चासो दिने बताउनुभयो । थारु संस्कृतिलाई लोप हुन नदिन नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिन सुझाव समेत दिनुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले थारु समुदायको पहिचान संकटमा पर्ने नदिने बताउनुभयो । स्थानीय सरकारको रुपमा नगरपालिका रहेकाले थारुहरुको पहिचान सँग जोडिएका कला संस्कृति संरक्षणमा आफुहरु कट्टिवद्ध भएर लाग्ने बताउनुभयो । कार्यक्रममा उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललित कुमार चौधरी, केन्द्रीय पार्षद लक्ष्मी चौधरी, सांस्कृतिक विभाग प्रमुख कमान सिंह चौधरी, चेतना नारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बविता चौधरी लगायतले बोल्नुभएको थियो । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले आयोजना गरेको कार्यक्रमका विविभन्न गाउँगाउँबाट सहभागीता जनाउन आएका महिला समुहहरुले झम्टा गीत प्रस्तुत गरेका थिए । कार्यक्रम रामेश्वर महतोका अध्यक्षतामा आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया