इन्धन अभाव टार्न निजी कम्पनीलाई पनि पेट्रोलियम पदार्थको आयात गर्न अनुमति

नेपाल आयल निगमले तत्कालको इन्धन अभाव टार्न निजी कम्पनीलाई पनि पेट्रोलियम पदार्थको आयात गर्न अनुमति दिएको छ । तर, अनुमति पाएका कुनै पनि कम्पनीले अझैसम्म तेल तेल ल्याउन सकेका छैनन् । भारतको अघोषित नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव भएपछि सरकारले अर्को व्यवस्था नभएसम्म विदेशबाट पेट्रोलियम पदार्थ खरिद तथा पैठारी गरी ल्याउन सक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को त्यही निर्णयमा टेकेर आपूर्ति सहज बनाउन भन्दै निगमले हालै ११ वटा कम्पनीलाई अनुमति दिएको पाइएको छ ।
गत असोज २१ गते आयल निगमले ग्लोबल टेण्डर आह्वान गर्दै नेपालमा १५ दिनका लागि पेट्रोलियम पदार्थको आयातका लागि प्रस्ताव पेश गर्न भनेको थियो । त्यस अनुसार २२ कम्पनीको आवेदनमध्ये ‘तेल आयात गर्ने केही बलियो आधार देखाएका’ ११ कम्पनीलाई अनुमति दिईएको निगमले जनाएको छ । निगमले बिराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स, ओटेक्स, शेर्पा आउटडोर, अरेन्ज ट्रेड, ओमशिव पेट्रो, साईराम सप्लायर्स, हिमानलयन ग्यास एण्ड पेट्रोलियम, ग्लोबल एलाइन्स, ल्यास वर्ल्ड ट्रेडिङ, ब्लु लोटस प्रालीलाई पेट्रोलियम पदार्थ आयात गर्न अनुमति दिएको छ । अनुमति पाएका कम्पनी मध्ये कतिपयले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने योजना देखाएका छन् भने कतिपयको बंगलादेश र चीनबाट ग्यास दाबी गरेका छन् । तर, सबैले इन्धनको मूल्य हाल नेपाली बजारमा रहेको भन्दा महंगो प्रस्ताव गरेको छ । तर, तत्कालको संकट टार्न भन्दै आयल नियमले उनीहरुले प्रस्ताव गरेको मूल्यलाई नै स्वीकृत गरेको स्रोतले बताएको छ ।
तपाइँको प्रतिक्रिया