उपत्यकाका पेट्रोल पम्पहरुमा तेल भर्नेहरुको घुईचो

आफ्नो सवारी साधनमा तेल भर्नेहरुको काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ । भारतले नेपालमा नाकाबन्दी गरेपछि अत्यावश्यक सेवा र अधिकारबाट नेपालीहरु बञ्चित भएका छन् । कतिपय पेट्रोलपम्पहरुमा तनावको अवस्था छ । सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोल पम्पमा तेल भर्न नपाएपछि सवारी चालकहरुले सडकमा गाडी तेर्सायाएर विरोध जनाए । चालकहरुको प्रदर्शनका कारण केहीबेर सडक अबरुद्ध भएको थियो । भद्रकालीस्थित नेपाली सेनाको पम्पमा तेल भर्नेहरुको लाइन बबरमहलसम्म पुगेको छ । पम्पहरुले तेल बाँड्नुअघि सवारी चालकलाई कुपन बाँड्ने र सोही कुपन देखाएर तेल भर्ने व्यवस्था गरिएको छ । त्यसैले आयल निगमले आफ्ना सवारी साधन लाइनमा छोडेर नहिँड्न आग्रह गरेको छ । आयल निगमले निजी गाडीहरुलाई विहीबारदेखि तेल दिन थालेको हो । आज १ देखि ३० नम्बर लटसम्मका निजी मोटरसाइकल र १ देखि ५ लटसम्मका चार पाङ्ग्रे निजी गाडीहरुलाई तेल बितरण भईरहेको छ । त्यस्तै लट अनुसार भोली शुक्रबार र पर्सि शनिबार पनि निजी मोटरसाईकल र गाडीहरुलाई तेल बितरण गरिने आयल निगमले जनाएको छ ।
तपाइँको प्रतिक्रिया