उपराष्ट्रपतिका लागि प्रस्ताव गरिएका उम्मेदवारलाई सहयोग गर्ने एमाओवादीको निर्णय

उच्चस्तरीय राजनीतिक समितिले सत्ता गठबन्धनलाई कायम राख्दै एकीकृत नेकपा (माओवादी)का तर्फबाट उपराष्ट्रपतिका लागि प्रस्ताव गरिएका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले मुलुकको वर्तमान अवस्था र दलहरुबीचको सहमति र सहकार्य एवम् गठवन्धनको संस्कृतिलाई कायम राख्दै अगाडि बढ्ने निष्कर्ष निकालेको हो । एमाओवादीले पार्टी स्थायी समिति सदस्य एवम् पूर्वलडाकु कमान्डर नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने बताएको छ । गठबन्धनमा रहेका केही दलले एमाओवादी नेता पुनबाहेक मधेसी, थारू समुदायबाट कसैलाई उम्मेदवार बनाए राम्रो हुने धारणा राख्दै आएका छन् । तराई मधेसमा आन्दोलन एवम् असन्तुष्टि जारी रहेको बेला सोही समुदायबाटै उपराष्ट्रपति बनाउन सकिए राम्रो हुने भन्दै गठबन्धनमा रहेका दलहरुले पुनभन्दा अर्को व्यक्तिलाई अगाडि सार्न एमाओवादीसँग आग्रह गरेका थिए ।उच्चस्तरीय समितिको बैठकपछि नेकपा (माले) का महासचिव सिपी मैनालीले सत्तागठबन्धन कायम राख्दै अगाडि बढ्ने निर्णय गरेको जानकारी दिनुभयो ।उहाँले बैठकमा विभिन्न कोणबाट उपराष्ट्रपतिको विषयमा छलफल भएको उल्लेख गर्दै एमाओवादी उम्मेदवारलाई नै सहयोग गर्ने बताउनुभयो ।
बैठकमा एमाओवादीले पार्टी स्थायी समितिको बैठकले गरेको निर्णय जानकारी गराउँदै तलमाथि भए आफूहरुले फरक ढङ्गले सोच्नुपर्ने बताएको थियो । नेकपा (माले) का महासचिव मैनालीले एमाओवादीले आफ्नो उम्मेदवारलाई गठबन्धनका तर्फबाट सहयोग हुने विश्वास बैठकमा राखेको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया