एक्सपर्ट स्पिकिङ च्याम्पको गैंडाकोटमा अडिसन सकियो, भोलि भरतपुरमा

चितवन, भदौं २७
दोस्रो संस्करणको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को आज –शुक्रबार नवलपुरको गैंडाकोटमा अडिसन सम्पन्न भएको छ ।
विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिताको गैंडाकोटस्थित जनक माविमा अडिसन सम्पन्न भएको हो । अडिसनमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए । सो अडिसनबाट ७ जना विद्यार्थी दोस्रो चरणका लागि छनौट भएको आचार्यले जानकारी दिए ।
अडिसनमा सञ्चारकर्मी मनोज घिमिरे र अर्का संचारकर्मी प्रवेश अधिकारी निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको अर्को अडिसन भोलि (भदौ २८) र २९ गते भरतपुरमा हुँदैछ । अडिसन दुई दिन नै नारायणी कला मन्दिरमा हुने प्रवन्धक आचार्यले जानकारी दिए । यस्तै अर्को अडिसन भदौ ३१ गते माडी क्याम्पसमा हुने प्रवन्धक आचार्यले जानकारी दिए ।
यसैबीच अडिसनबाट दोस्रो चरणका लागि छनौट भएका विद्यार्थीहरुलाई नेपालका चर्चित व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने भएको छ । विद्यार्थीहरुलाई पूर्व मिस नेपाल सुगारिका केसी र चर्चित संचारकर्मी राधाकृष्ण (आरके) धितालले प्रशिक्षण दिने प्रवन्धक आचार्यले जानकारी दिए ।
छनोट प्रतियोगीहरुलाई असोज २७, २८, २९ र ३० गते तालिम दिइने बताइएको छ । दोस्रो चरणको प्रतियोगिता कात्तिक १ गते र फाइनल मंसिर १३ गते हुने बताइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।
प्रतियोगिताको यसअघि ग्रीनफिल्ड इङ्लिस स्कुल दारेचोक मुग्लिन, पूर्वी चितवनको पर्सा्स्थित रेडक्रस भवन, कावासोतीको सिद्धार्थ इङ्लिस स्कुल, न्यू क्यापिटल कलेज टाँडी रत्ननगर र भरतपुरको दिव्यनगरमा अडिसन भएको थियो ।
यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने छन् ।
प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।
तपाइँको प्रतिक्रिया