एचपी ग्यासलाई तत्काल ग्यास नदिन आयल निगमलाई निर्देशन
काठमाडौं, २ असार आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल्स् प्रालिको एचपी ग्यासलाई तत्काल ग्यास नदिन आयल निगमलाई निर्देशन दिएका छन् । निगमले ग्यास दिन बन्द गरेपछि धादिङको धार्केछेउमा रहेको उद्योग तत्कालै बन्द हुनेछ । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसेको उपभोक्ता परिषद्को बैठकले एचपी ग्यासका सिलिन्डर जोखिमपूर्ण भए पनि उद्योगीले सुधारमा बेवास्ता गरेकाले पिडिओ रोक्का गर्ने निर्णय गरेको थियो । ‘एचपी ग्यासको खाना पकाउने सिलिन्डर विस्फोट भई जनधनको क्षति भएको सम्बन्धमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्य–तथ्य बुझ्ने क्रममा रहेकाले यथार्थ वस्तुस्थिति नआएसम्मका लागि हाललाई उक्त ग्यास उत्पादन गर्ने हिमालयन पेट्रोकेमिकल्स प्रालिको पिडिओ रोक्का गर्न आयल निगमलाई निर्देशन दिने’ बैठकको ४ नम्बर बुँदाको निर्णयमा भनिएको छ । एचपी ग्यासको डेढ लाखभन्दा बढी सिलिन्डर प्रचलनमा छन् । उसका काठमाडौंमा ६० हजारभन्दा बढी उपभोक्ता छन् । उद्योग बन्द भए एचपी ग्यासका उपभोक्ताले सिलिन्डर साट्न नपाई सास्ती खेप्नुपर्नेछ । एचपी रतन संघाई र राजेन्द्र खेतानको उद्योग हो । सुगमलाई चोख्याइयो बुधबार दिउँसो बसेको परिषद् बैठकले सुगम ग्यासको पिडिओ रोक्का गर्ने समझदारी गरेको थियो । बैठकमा मन्त्री पुन, आपूर्तिसचिव श्रीधर सापकोटा, दुई सहसचिव आनन्द रेग्मी र उत्तम नागिला, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गोपाल धिताल, सोही विभागका निर्देशक लक्ष्मण श्रेष्ठ, तीन उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, विमला खनाल र वीरसिंह ठकुरी बैठकमा सहभागी थिए । उपभोक्ताकर्मीले सुगम ग्यासका सिलिन्डरप्रति उपभोक्ताको गुनासो बढ्दै गएको र सोमबार कालिमाटीमा घटेको दुर्घटनालाई आधार बनाई पिडिओ रोक्का गर्न निगमलाई निर्देशन दिनुपर्ने बताएका थिए । उपभोक्ताकर्मीको कुरा सुनिसकेपछि मन्त्री पुनले आवश्यक कारबाही गर्ने बताएका थिए । ‘यसपटक पिडिओ रोक्का गरेर आवश्यक कारबाही हुन्छ,’ मन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । उनले सुगमलाई कारबाही गर्ने निर्णयसहितको माइन्युट तयार गर्न आपूर्ति विभागलाई निर्देशन पनि दिएका थिए । तर, दिउँसोको समझदारी साँझ पर्दै गएपछि ओझेलमा पर्यो र विभागले सुगम ग्यासको सिलिन्डरबारे अध्ययन गर्ने भनी निर्णयसहितको माइन्युट तयार गर्यो । ‘सुगम ग्यासको सिलिन्डरबाट ग्यास लिक भई दुर्घटना भएको सन्दर्भमा आपूर्ति विभागबाट छानबिन गरी ७ दिनभित्र आपूर्ति मन्त्रालयमा प्रतिवेदन पेस गर्ने’ माइन्युटमा भनिएको छ । ग्यास उद्योगीको धम्की ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आवश्यक छानबिनविनै उद्योगलाई ग्यास दिन बन्द गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले वास्तविक कुरा नबुझेको र उद्योगीलाई सफाइको मौका नदिई पिडिओ रोक्का गर्ने निर्णयको विरुद्ध उत्रने बताए । उनले निर्णय नसच्याए सबै उद्योग बन्द गरेर आपूर्ति ठप्प पार्ने दाबी गरे । =नया पत्रिकाबाट=
तपाइँको प्रतिक्रिया