एमाले अध्यक्ष केपी ओलीसँग सघन छलफल गरी सहमतिमै सरकारले नागरिकता विधेयक अघि बढाएको हो : गृहमन्त्री खाँण

काठमाण्डौं, भाद्र १३
गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सहमतीमै सरकारले नागरिकता विधेयक ल्याएको बताउनु भएको छ ।
सोमबार राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले यस्तो दावी गर्नु भएको हो ।
प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग सघन छलफल गरी सहमतिमै सरकारले सो विधेयक अघि बढाएको र संसदको दुवै सदनबाट पारित गराएको गृहमन्त्री खाँणको जिकीर थियो ।
उहाँले सो विधेयक केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशमा आधारित रहेको पनि समितिलाई जानकारी गराउनु भयो ।
नागरिकताजस्तो विषयलाई रोक्नु हुँदैन भन्ने सत्प्रयासले सो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति समक्ष पुगेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसमा सबै राजनीतिक दलहरुको पनि सहमती रहेको बताउनु भयो।
गृहमन्त्री खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको सो विधेयकमा केही समवेदनशील र महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर जान सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले नागरिकताका सम्बन्धमा संविधानकै केही प्रावधान परिष्कृत र परिमार्जित गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई अघि बढाउन पनि सरकार तयार रहेको बताउनु भयो ।
मन्त्री खाँणले विवाह गरेर भित्र्याइएका विदेशी बुहारीलाई नागरिकता दिने विषय, पहिचान नखुलेका अल्पसंख्यकलाई दिने नागरिकताको विषयमा सरकारले गम्भिर भएर सम्वद्ध पक्षसँग छलफल गरेर अघि बढने पनि बताउनु भयो ।
तपाइँको प्रतिक्रिया