एमाले महाधिवेशनको तयारी तिव्र, नवलपुरको प्रत्येक घरमा निमन्त्रणा पत्र वितरण

नवलपुर, ६ मंसिर। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै छ । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रताका साथ अगाडी बढाएको छ ।
यसैअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो ।
नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताउनुभयो । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताउनुभयो । अभियानको शुभारम्भ नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज तथा सङ्घीय सांसद तिलक महत क्षेत्रीले गर्नुभएको थियो ।
नगर कमिटी तथा वडा कमिटीहरुको भेला र बैठक बसेर निमन्त्रणा पत्र वितरणको काम सुरु गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले बताउनुभयो । प्रचार समितिले तयार पारेको निमन्त्रणा पत्रमा एमालेको कार्यकर्तालाई मात्रै नभएर पार्टीका शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको हो ।
तपाइँको प्रतिक्रिया