एमाले र एमाओवादीबीच १४ बुँदे सहमति

आश्विन २३, २०७२- नयाँ सरकार निर्माणमा एक भएका एमाले र एमाओवादीबीच १४ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १४ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच विदेशी हस्तक्षेप स्वीकार नगर्ने सहमति भएको छ । ‘नेपाली जनतामा नीहित सार्वभौमसत्ता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्दै बाह्य दबाब र हस्तक्षेप अस्वीकार गर्ने,’ सहमतिमा उल्लेख छ ।
दुई दलबीच भारतको अघोषित नाकाबन्दीको असरलाई ध्यान दिई तत्कालिक र दीर्घकालीनरुपमा अत्यावश्यक वस्तुको आपूर्ति गर्न राष्ट्रलाई आत्मनिर्भर बनाउन नीति र कार्यक्रम तर्जुमा गर्ने सहमति भएको छ ।
एमाले र एमाओवादीबीच नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, हित र स्वाभिानको पक्षमा दृढ रहने, संविधान कार्यान्वयनमा अधिकतम सहमति जुटाउने सहमति भएको छ ।
असन्तुष्ट आन्दोलनरत मधेसी दल तथा थारु समूदायको मागलाई राजनीतिकरुपमै सम्बोधन गर्ने सहमति भएको छ । ‘असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रित दलहरु, थारु समूदाय र विभिन्नरुपमा आफ्ना मुद्धा र आवाज उठाइरहेका आदिवासी जनजाति लगायत अन्य उत्पीडित समूदायसँग वार्ता मार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने,’ सहमतिको चौथो बुँदामा लेखिएको छ ।
तपाइँको प्रतिक्रिया