ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको पूर्वआइजीपी सर्वेन्द्र खनालको भनाई

काठमाडौं, असोज ६
नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको बताए ।
‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ,’ उनले भने,‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’
उहाँले प्रहरी जागिर खाँदादेखि आइजीपी हुँदासम्म ओलीसरहको राजनेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालयित भएको बताउनु भयो ।
खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताउनु भयो ।
खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गर्नुभयो ।
तपाइँको प्रतिक्रिया