केपी ओली प्रधानमन्त्रीमा निर्वाचित
एमाले अध्यक्ष केपी शर्मा ओली ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । ओली नयाँ संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री हुने सौभाग्य पाएका छन् । संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथो ठूलो दल राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहितका साना दलको समर्थनमा ओली प्रधानमन्त्री निर्वाचित भएका हुन् । संसदमा आइतबार भएको मतदानमा ओलीको पक्षमा ३३८ सांसद् उभिए भने उनका प्रतिद्वन्द्वी कांग्रेस सभापतिसमेत रहेका कामचलाउ प्रधानमन्त्री सुशील कोइरालाले २४९ मत पाए । प्रधानमन्त्री निर्वाचन प्रक्रियामा ५८७ जना सहभागी थिए ।सहमतिको सरकार बनाउन प्रमुख दल एक ठाउँमा नआएपछि अन्तत: बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री चयन भएको हो । ओली २०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । ओलीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए भने राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका साना दलले समर्थन जनाएका थिए ।
तपाइँको प्रतिक्रिया