ओली भर्सेस रावल – को बन्ला अध्यक्ष, १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा

चितवन, १३ मंसिर ।
नेकपा एमालेको जारी १० औं महाधिवेशनमा १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सौराहामा जारी बन्दसत्रमा निर्वाचनको कार्यक्रम अघि बढेको छ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् । रावलको प्रस्तावकमा महादेव बजगाइ र समर्थकमा दुधकला विष्ट रहेका छन् ।हिजो साँझ ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको हो । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ । उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरिएको थियो ।
यस्तै सचिवमा पनि चुनाव हुने भएको छ । एमालेमा सात जना सचिव रहने छन् । ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाउने सूचि तयार पारेका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ। निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ । मतदाताले प्रचारप्रसार गर्दा निर्वाचन सामाग्री ठूलो प्रदर्शन गर्न पाइने छैन भने समूहगत छलफल पनि गर्न पाइने छैन । आचारसंहिता विपरीत काम भएमा आयोगले उम्मेदवारी वदर गर्नसक्ने जनाएको छ ।
एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २२ सय ८७ रहेको छ । नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ। मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसन्सका रामप्रसाद रिमालले कतिपय नाममा सर्वसम्मत भएकाले ७२ मेसिनमात्र प्रयोग गर्न लागिएको बताए। नेकपा एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ।एमालेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहान सबेरै मतपरिणाम आउने देखिन्छ।
तपाइँको प्रतिक्रिया