कक्षा १२ को परिक्षामा ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

काठमाडौं, १७ मंसिर ।
कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ ।
‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।
तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।
बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया