कर विवादको अवस्था गुपचुप राख्न हुँदैन, सार्वजनिक गरौँ : अर्थमन्त्री शर्मा

काठमाडौं, १ मंसिर ।
अर्थमन्त्री जनार्दन शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । १० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको बताउँदै उहाँले विवादित कर विवरण सार्वजनिक गर्न निर्देशन दिनुभएको हो ।
उहाँले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको समेत बताउनु भएको छ । अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नको लागि सरकार मात्र नभई करदाता र कर प्रशासन समेतले त्यसको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले त्यसको लागि आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकास अझ बढाउँदै जानु पर्ने बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘यसको लागि करदाताले पनि आफ्नो व्यवसायलाई नयाँ प्रविधि भित्र राख्नुपर्छ तर, अहिले सरकारले लागू गरेको डिजिटल प्रणालीअनुसार व्यवसाय सञ्चालनमा आएका छैनन् । अहिले न्यूरोड,ठमेल लगायतका बजारमा कुनै पसलमा कम्प्युटर देखिँदैनन् तर, त्यहाँ व्यापार व्यवसाय भइरहेको छ ।’ मन्त्री शर्माले कम्प्युटर बिना व्यापार गरिरहेको पसलहरुमा गएर हस्तक्षप तथा नियन्त्रण गर्न नमिल्ने बताउनु भयो ।
उहाँले कर दबाव नभई आवश्यकता भएको बताउनु भयो । मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउन पनि निर्देशन दिनुभयो ।
तपाइँको प्रतिक्रिया