काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालको उम्मेद्वारी घोषणा

चितवन, २ मंसिर ।
नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालले उम्मेद्वारी घोषणा गर्नु भएको छ । काँग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनका लागि बिहिबार भतरपुरमा पत्रकार सम्मेलन गर्दै खनालले औपचारीक रुपमा सभापतिमा उम्मेद्धवारी घोषणा गर्नु भएको हो । काँग्रेस चितवनको जिल्ला अधिवेशन यही १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा हुँदैछ । सेवामुखी राजनीतिमा मेरो प्रतिवद्धता भन्ने नारा सहित आफु चुनावी मैदानमा होमिएको खनालले बताउनु भयो ।
उहाँले नेपाली काग्रेस भित्रको परिपक्वता र विचारको लडाई व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।
आफु विगत १३ वर्षको उमेर देखि काग्रेसको राजनितिमा लागेको बताउदै खनालले नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य, विरेन्द्र बहुमुखि क्याम्पसमा सभापति, नेपाल तरुणदलमा २ वर्ष सभापति र ४ वर्ष सचिव पदमा रहेर काम गरिसकेको अनुभव रहेको बताउनु भयो । आगामी निर्वाचनमा पार्टीलाई जिल्लाको पहिलो पार्टी बनाउने र पार्टी भित्र सबै नेता कार्यकर्तालाई योग्यता र क्षमताका आधारमा भूमिका दिने समेत उहाँले बताउनु भयो । ६ गतेको महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि फाइनल टिम बनाउने खनालले पत्रकार सम्मेलनको क्रममा जानकारी गराउनु भयो । आफ्नो नेतृत्वको टिमले चितवनमा गुटगत राजनिती हुनु नदिने र स्थानिय परिपक्व व्यक्ति आउने बताउनु भयो ।
चितवनमा अधिवेशनका लागि सभापति पदमा अन्य ७ जनाले पनि आकांक्षा राखेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रजिष्ट्रार भएर काम गरेका प्रा.डा.सूर्यकान्त घिमिरे, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ, हाल पार्टीका जिल्ला उपसभापति कैलाश कोइराला, जिल्ला सचिव उत्तम जोशी, राष्ट्रिय सभाका पूर्व सदस्य जगन्नाथ पौडेल, चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनेका राजेन्द्र बुर्लाकोटी र विजय भुषालले पनि सभापतिमा उठ्ने बताउँदै आएका छन्।
तपाइँको प्रतिक्रिया