कांग्रेसले राष्ट्रपति निर्वाचनका उमेद्वारका विषयमा अन्य दलसँग पनि छलफल गरेर टुंगो लगाउने

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका उमेद्वारका विषयमा अन्य दलसँग पनि छलफल गरेर टुंगो लगाउने भएको छ । संसद भबन नयाबानेश्वरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले अन्य दलसँग परामर्श गरेर उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो । बैठकले राष्ट्रपति र उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा उमेद्वारी दिने निर्णय गरेको छ । बैठकले संविधानको धारा २९७ बमोजिम संसदबाट गोप्य मतदानका आधारमा नयाँ राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग प्रवक्ता दिलेन्द्रप्रसाद बडुले पार्टीको उम्मेदवारीका विषयमा संसदमा रहेका सबै राजनीतिक दलसँग परामर्श गर्न पार्टीका पदाधिकारीहरुलाई जिम्मेवारी दिएको बताउनुभयो । उहाले पदाधिकारीहरुले यस विषयमा परामर्श गरी उम्मेदवार चयन समेत गर्ने र त्यसलाई पार्टी केन्द्रीय समितिले अनुमोदन गर्ने उल्लेख गर्नुभयो ।
कांग्रेसका तर्फबाट वर्तमान राष्ट्रपति रामवरण यादव, पार्टी नेता कुलबहादुर गुरुङ र मानबहादुर विश्वकर्माको नाम चर्चामा आएको छ । त्यसैगरी कांग्रेसले यस अघि आफ्नो नेतृत्वमा गठित सरकारले संविधान संसोधनका लागि संसद सचिवालयमा दर्ता गरेका विधेयक तत्काल पारित गर्न सदनमा पेश गरी प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।
साथै मधेसको आन्दोलनको समर्थनमा भारतीय सरकारले विगत एक महिनादेखि लगाएको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितीको तत्काल अन्त्यका लागि कुटनितिक पहल थाली स्थिती सहज बनाउन सरकारसँग जोडदार माग गरेको छ ।
यसअघि शनिबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय थियो ।
तपाइँको प्रतिक्रिया