कालिका र ईच्छाकामनामा सशक्तिकरण परियोजना सुरु, परियोजनाले चेपाङ्ग महिलाहरुको क्षमता विकास र सशक्तिकरणको क्षेत्रमा काम गर्ने

रत्ननगर १९ साउन ।
चितवनको कालिका नगरपालिका र ईच्छाकामना गाँउपालिकामा चेपाङ्ग महिला सशक्तिकरण परियोजना सुरु भएको छ । आर्थिक र सामाजिक हिसावले पछाडी परेका चेपाङ्ग महिलाहरुलाई राज्यको मुल प्रवाही करणमा ल्याउने उद्देश्यले कालिका र इच्छाकामनामा दुई बर्षे परियोजना सुरु गरिएको कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।
अन्डेफको सहयोगमा डेक नेपालले परियोजना सुरु गरेको हो । परियोजनाले चेपाङ्ग महिलाहरुको क्षमता विकास र सशक्तिकरणको क्षेत्रमा काम गर्ने छ । महिलाको विकासको लागि पुरुषको साथ अनिवार्य हुने भएकाले चेपाङ्ग पुरुषहरुलाई पनि परियोजनामा समेट्ने लक्ष्य रहेको छ । परियोजनाले चेपाङ्ग बस्तीमा महिलाहरुको समुह बनाएर बचत गर्ने,परिचालन गर्ने र समुह मार्फत नै स्थानीय निकायमा हुने निणर्य प्रक्रियामा सहभागी हुन सक्ने बनाइने साप नेपालका कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
चेपाङ्ग महिलाहरुलाई स्थानीय तहमा बजेट बाँडफाँड र निर्णय प्रक्रियामा सहभागी हुन सक्ने क्षमताको विकास गरिने उहाँले बताउनुभयो । चेपाङ्ग महिलाको क्षमता विकासको लागि क्षमता विकास र सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने छ । परियोजनाले चेपाङ्ग महिलाहरुलाई सामाजिक जवाफदेहिता विधिहरु ,सामुदायिक अंकपत्र, सामाजिक लेखापरीक्षण,लैङ्गिक मैत्री बजेट सोधखोज र सार्वजनिक सुनुवाईका अभ्यासहरु गराउने छ । परियोजना आईतवार देखि औपचारिक रुपमा सुरु भएको छ ।
प्रदेश साँसद सन्तबहादुर चेपाङ र कालिकाका मेयर खुमनारायण श्रेष्ठले संयुक्त रुपमा परियोजनाको उद्घघाटन गरेका थिए । सो अबसरमा उहाँले डेक नेपालले चेपाङ महिलाको सशक्तिकरणसंगै चेपाङको शिक्षा र आयआर्जनको लागि काम गर्नुपर्ने बताउनुभयो । सो परियोजना अन्तर्गत डेक नेपालको सौराहा स्थित कार्यालयमा चेपाङ्ग महिलाहरुका लागि पाँच दिने क्षमता विकास तालिम सुरु भएको छ ।
तालिममा स्थानीय श्रोत व्यक्तिको रुपमा छनौट भएका २० जना चेपाङ महिलाहरुको सहभागिता रहेको छ । तालिम पाँच दिन सम्म चल्ने छ । डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इच्छाकामना गाउँपालिकामा वडाध्यक्ष भूपेन्द्र चेपाङ,कालिकाका वडाध्यक्ष कृष्णबहादुर प्रजा,नेपाल चेपाङ संघका अध्यक्ष लक्ष्मण चेपाङ,जिल्ला गैरसहकारी महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
भिडियो पनि हेर्नुहोस
तपाइँको प्रतिक्रिया