कावासोती १५ लाई प्लास्टीक मुक्त वडा बनाउने उदेश्यका साथ बुधबार देखि फोहोर ब्यवस्थापन तथा प्लास्टीक जन्य झोला मुक्त अभियान सुरु

जेष्ठ ८, कावासोती
नवलपुरको कावासोती नगरपालिका १५ लाई प्लास्टीक मुक्त वडा बनाउने उदेश्यका साथ बुधबार देखि फोहोर ब्यवस्थापन तथा प्लास्टीक जन्य झोला मुक्त अभियान सुरु गरिएको छ । बुधबार कावासोती १५ मा अवस्थित पर्यटकीय होमस्टे अमलटारी होमस्टे लगायत वडालाई नै प्लास्टीक जन्य झोला तथा फोहोरमैला ब्यवस्थापन गर्न लक्ष्यका साथ कावासोती वडा नम्वर १५ ले अभियान नै सञ्चालन गरेको हो । वडालाई प्लास्टीक मुक्त अभियान कावसोती वडा नम्वर १५ ले वडाकै करिव १ लाख ८५ हजार रकम विनियोजित गरि अभियान अगाडि बढाएको वडाध्यक्ष देवनारायण महत्तोले बताउनुभयो ।
अहिले पर्यटकीय स्थल अमलटारी र मुसहर बस्तीलाई प्लास्टीक मुक्त अभियान को क्षेत्रलाई समेटेर अभियानलाई तिव्रता दिईने र त्यसपश्चात आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पुर्ण वडा १५ लाई नै प्लास्टीक मुक्त वडा घोषणा गर्ने अध्यक्ष महत्तोको भनाई छ । फोहोर ब्यवस्थापन तथा प्लास्टीक झोला मुक्त अभियान बुधबार कावसोती १५ अमलटारीमा एक औपचारिक उद्धघाटन गरि सुरु गरेको हो । फोहोर ब्यवस्थापन तथा प्लास्टीक मुक्त उपभोक्ता मुल समिति कावासोती १५ का सभापति नर बहादुर महत्तोको अध्यक्षतामा आयोजित कार्यक्रममा कावासोती नगर उपप्रमुख प्रेम शंकर मर्दनिया थारुको प्रमुख आतिथ्यता भएको थियो । यसैगरी कावासोती १५ का वडाध्यक्ष देवनारायण महत्तो, कावासोती नगरपालिका इन्जिनियर एवम् फोहोर ब्यवस्थापन संयोजक पवन रुपाखेती लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि मर्दनियाले कावासोती १५ ले ल्याएको यो अभियान अन्य वडाहरुमा पनि क्रमिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अमलटारी र त्यस आसपासका मुसहर बस्तीका स्थानीयहरु गरि २ सय १३ जनालाई कागज तथा कपडाको झोला वितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया