किताबको मूल्य घट्यो, बिल बुझाए बढी तिरेको रकम फिर्ता हुने

काठमाडौं । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन्। यसका लागि उनीहरूले बिल बुझाउनुपर्ने छ। शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशकले पुस्तक बिक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो। पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्तकमा उल्लेखित मूल्यभन्दा कम मूल्यमा पाउने छन्।पुस्तक प्रकाशकले २०६९ मा निर्धारित मूल्यमा बिक्री गर्न नसक्ने अडान लिएपछि शिक्षा मन्त्रालयले सोमबार २०७० मा सिफारिस गरेको मूल्य कायम गरेको हो।पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार प्रतिपेज एक रंगको एक रुपैयाँ १० पैसा, दुई रंगको एक रुपैयाँ ४५ पैसा र बहुरंगको एक रुपैयाँ ४५ पैसा कायम गरिएको छ। यो निर्णयसँगै अभिभावकले आफ्ना छोराछोरीका लागि किनेको पुस्तकको बिल पसलमा बुझाएपछि बढी तिरेको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।
आफूले किनेको पुस्तक कुन विषयको, कति पेजको र कति रंगको छ, त्यसका आधारमा पैसा फिर्ता माग्न सकिन्छ। जस्तै, विद्यार्थी प्रकाशनको एक रंगको कक्षा ६ को मोरल एजुकेसन ८८ पेजको छ। यसको मूल्य एक सय ५० रुपैयाँ राखिएको छ। शिक्षा मन्त्रालयले सोमबार निर्धारण गरेको मूल्यअनुसार यो पुस्तकको मूल्य ९७ रुपैयाँ मात्रै हुन्छ।
यो पुस्तकमा अभिभावकले ५३ रुपैयाँ फिर्ता पाउँछन्। कान्तिपुरले बजार सर्वेक्षणका क्रममा ललितपुरको जुपिटर विद्यालयका कक्षा पाँचको एक सेट र भक्तपुरको ओम ज्ञान मन्दिरको कक्षा ६ को एक सेट पुस्तकको विश्लेषण गरेको थियो। जुपिटरले पाँच कक्षामा विद्यार्थी, ओसिस, पुस्तक प्रकाशन गृह, अल्फाबेट, युनिक एजुकेसनल पब्लिसर, सञ्जीवनी र अक्सब्रिज प्रकाशनको पुस्तक आफ्नो सूचीमा राखेको छ।
प्रकाशकले राखेअनुसार १२ वटा पुस्तकको मूल्य ३ हजार १० छ। सरकारले सोमबार निर्धारण गरेको मूल्यअनुसार भने २ हजार पाँच सय ६४ रुपैयाँ मात्रै हुन्छ। पुस्तक खरिद गरिसकेका अभिभावकले चार सय ४६ रुपैयाँ फिर्ता पाउनुपर्ने हुन्छ।
कान्तिपुर दैनिकमा समाचार छ ।
तपाइँको प्रतिक्रिया