कृषिमा प्रविधि भित्र्याउनुपर्छ : मन्त्री बुुढा

नवलपुर, २३ पुस । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले कृषिमा प्रविधि भित्र्याउनुपर्ने बताउनुभएको छ ।
नवलपरासी –बर्दघाट–सुस्तापूर्व)को कावासोती–१४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री बुढाले परम्परागत कृषि पेसाबाट व्यवसायिक हुनुपर्नेमा जोड दिनुभयो ।
कृषकले उत्पादन गरेको सामग्रीको बजारिकरणको जिम्मा स्थानीय सरकारको हुने भन्दै मन्त्री बुढाले कृषकलाई व्यवसायिक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । कृषि सहकारीहरुले पनि कृषिमैत्री उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने मन्त्री बुढाले बताउनुभयो ।
पछिल्लो समय सहकारीहरुले सदस्यलाई ऋण दिएर ब्याज मात्रै खाने गरेको उल्लेख गर्दै त्यस्तो परिपाटीको अन्त्य गर्नुपर्ने मन्त्री बुढाले बताउनुभयो । सदस्यहरुबाट उठाएको पैसा ऋणमा लगाउँदा सहकारीले केही ब्याज प्राप्न गर्ने भए पनि त्यसले उद्यमशीलता विकास नहुने मन्त्री बुढाको भनाइ छ ।
सो कार्यक्रमा ज्येष्ठ सदस्य, उत्कृष्ट कृषक उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष हरिबहादुर बस्नेतले कृषकहरुलाई दूधमा अनुदान वितरण गरिएको बताउनुभयो । उहाँले आफ्ना सदस्यहरुलाई प्रति लिटर दूधमा रु ३ अनुदान प्रदान गर्दै आएको बताउनुभयो ।
सहकारीले चालु आवमा कृषकहरुलाई प्रतिलिटर दूधमा रु ३ का दरले रु २२ लाख ६१ हजार अनुदान वितरण गरिएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया