कृषि पेशा पुस्तान्तरण नहुने हो कि भन्ने गैंडाकोट नगरपालिकाका उपप्रमुख कोईरालाद्धारा चिन्ता ब्यक्त

गैंडाकोट, २७ मंसिर
युवापुस्ताहरुको कृषि पेशा प्रति रुची घटदै गएकोले यो पेशा पुस्तान्तरण नहुने हो कि भन्ने चिन्ताको विषय बनेको गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोईरालाले बताउनुुभयो । गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख कोइरालाले यस्तो बताउनुभएको हो । स्वास्थ्यका लागि आवश्यक दुध, आम्दानीका लागि आवश्यक दुध र जीवनका लागि पनि आवश्यक दुध भनेर खोलिएको यो गैंडाकोट दुग्ध संस्था, जसले स्थानिय कृषकहरुको घर खर्च पनि टार्न सफल रहेको बताउनुभयो । कृषि तथा पशुपालन कर्म गर्ने मानिसहरुमा कमी हुँदै जाँदा कृषि प्रधान देश भएर पनि पराधीन हुनुपर्ने अवस्था आएको उहाँको तर्क थियो । उहाँले बृद्धबृद्धाहरुलाई बुढेसकालमा दूध खुवाउने छोरा जस्तै यो संस्था सधै बनिरहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । उपमेयर काईरालाले डेरीहरुलाई जिवित राख्न नगरपालिका सधैं सकारात्मक रहेको चर्चा गर्दै त्यसका निम्ति आवश्यक सहयोग गर्न पनि तत्पर रहेको बताउनुभयो ।संस्थाका अध्यक्ष खगराज सापकोटाले अहिले दूध दिन नसक्ने गाई र ती गाईले जन्माएका बाच्छाहरू कृषकलाई राख्ने समस्या जटिल बन्दै गएको औल्याउदै त्यस्तो समस्यालाई स्थानीय सरकार र यहाँका सामुदायिक वनहरुले पनि समाधानका लागि उपायहरु निकाल्नु पर्ने बताउनुभयो ।
साथै उहाँले स्थानिय नियमावली बनाउँदा यो समस्या समाधान हुने गरी ऐन ल्याउन स्थानिय सरकारलाई आग्रह गर्नुभयो । अध्यक्ष सापकोटाले स्थानिय निकय र वन समुह मिलेर १० बिगाह जग्गा उपलब्ध गराउन सके यो समस्या समाधानका लागि आफ्नो संस्थाले पनि सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले विगतमा घाटामा चलेको यो संस्थाले अहिले क्रमशः पुराना ऋणहरु चुक्ता गर्दै गएको र संस्था नाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।
साधारणसभामा संस्थााका सचिव सूर्यप्रसाद पराजुलीले आर्थिक वर्ष २०७८÷७९ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रतिवेदनमा संस्थाको प्रगति २०१ प्रतिशत वृद्धि भएको उल्लेख छ । सचिव पराजुलीले सिजनमा दैनिक २५ लिटर र अफ सिजनमा दैनिक १५ लिटरसम्म दूध ल्याउने कृषकलाई प्रतिलिटर रु १ अनुदान दिई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले दुग्ध उत्पादन व्यवसायलाई वृद्धि गर्न एक सदस्य एक पशुधन गाई वा भैंसी भन्ने अवधारणालाई प्रभावकारी बनाउन थप ५० लाख बराबरको योजना अगाडि बढाइने बताउनुभयो । यसैगरी उहाँको प्रतिवेदनमा उन्नत जातका घाँसका बीउको खोजी गरी कृषकलाई निःशुल्क रुपमा वितरण गरिने जनाइएको छ ।
साधारण सभामा कोषाध्यक्ष रुद्रप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष पौडेलको प्रतिवेदनमा चालु आर्थिक वर्षमा ४ करोड ८८ लाख ६९ हजार १९२ रुपिया कुल आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५ करोड ४५ लाख ५६ हजार ४८ रुपियाँ आम्दानी भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा संस्थाले आगामी आर्थिक वर्षको अन्तसम्ममा ५ करोड ४७ लाख ४० हजार आम्दानी गर्ने लक्ष्य राखेको जनाईएको छ ।
साधारणसभामा लेखा तथा सुपरिवेक्षक समितिको प्रतिवेदन संस्थाका व्यवस्थापक चन्द्रमणि पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभा कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य बक्ताहरुमा सामुदायिक वनहरुको तर्फबाट जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरे, शेयर सदस्यहरूको तर्फबाट तिलक रिजाल, महिला शेयर सदस्यको तर्फबाट जमुना ढुङ्गाना, सहकारीका तर्फबाट संस्थाका पूर्व सचिव माधवप्रसाद पौडेल, वडा नम्बर ९ का कार्यवहाक वडाध्यक्ष तथा वडा सदस्य ज्ञानप्रसाद खनाल, पूर्व लेखा संयोजक माधव प्रसाद गौतम, सहकारी सम्वन्वय मञ्चका सचिव बाबुराम खनाल, संस्थाका संस्थापक अध्यक्ष देवीप्रसाद सापकोटा र विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटा लगायत रहनुभएको थियो ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे र वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा समेतको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष अगन्धर सापकोटाको स्वागत मन्तव्य रहेको साधारणसभाको अध्यक्षता अध्यक्ष खगराज सापकोटाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद पराजुलीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया