कृषि विमा गर्ने किसानले दुई लाख विमा रकम पाए

रामकुमार श्रेष्ठ
नवलपरासी, २९ जेठ । कृषि विमा गर्ने नवलपरासीको कावासोतीका केरा कृषकहरुले करिब दुई लाख रुपैयां कृषि विमा रकम पाएका छन् । गत बर्ष १२ भदौमा आएको हावाहुरीले भएको क्षति वापतको रकम किसानहरुलाई शनिबार कावासोतीमा प्रदान गरिएको हो । कृषि सुरक्षा वहुउद्देश्यीय सहकारी संस्था लि. कावासोतीले आफ्नो नवौं साधारण सभा तथा पांचौं अधिवेशनमा उक्त रकम वितरण गरेको संस्थाका कोषाध्यक्ष विरबहादुर थापा क्षेत्रीले बताए। क्षेत्रीका अनुसार हेमकुमारी थापालाई ३९ हजार ९ सय, ओमबहादुर थापालाई ३२ हजार, भेमाकुमारी उपाध्यायलाई २० हजार, रकमाया तामाङ्गलाई १९ हजार र डण्डापानी भण्डारीलाई १४ हजार चार सय रुपैयां सहित १८ जना किसानलाई एक लाख ८९ हजार ९ सय ५० रुपैयां केरामा भएको क्षतिवापतको विमा रकम प्रदान गरिएको हो । सहकारीमा आवद्ध किसानहरु मध्ये १८ जना किसानको गत बर्ष ११ हजार सात सय ४० बोट केरा नोक्सान भएको थियो । कावासोतीमा पछिल्लो समय केरा, तरकारी, पशु लगायत कृषि क्षेत्रतर्फको विमामा किसानहरुको आकर्षण बढ्दै गएको छ । कावासोतीमा कृषि सुरक्षा वहुउद्देश्यीय सहकारी संस्था लि, कावासोती फलफूल तथा तरकारी उत्पादक सहकारी लगायतले कावासोतीमा कृषि क्षेत्रमा विमा गर्न थालेको छ । यसैबीच कृषि सुरक्षा वहुउद्देश्यीय सहकारी संस्था लि. कावासोतीको शनिबारसम्पन्न नवौं साधारण सभा तथा पांचौं अधिवेशनले पुन सीता कुवरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा आत्मराम सुवेदी, सचिवमा टीकाराम अर्याल, कोषाध्यक्षमा वीरबहादुर थापा क्षेत्री, सदस्यहरुमा राधिका गौतम, सरस्वती पोख्रेल, पार्वती लामिछाने, पार्वती अधिकारी, दुर्गा कुवँर, यज्ञप्रसाद भुसाल र हरिप्रसाद
सिग्देललाई चयन गरेको छ ।
तपाइँको प्रतिक्रिया