केपी शर्मा ओली र नारायणमान बिजुक्छेबीच बिहीबार भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बिहीबार भेटवार्ता भएको छ । कमल विनायकस्थित नेमकिपा अध्यक्ष बिजुक्छे निवासमा डेढघन्टा भएको भेटवार्तामा वर्तमान राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको छ । भेटका क्रममा एमाले अध्यक्ष ओलीले देशमा संविधान बने पनि जनताले खुसीयाली मनाउन नपाएर कठिनाइको स्थितिमा धकेल्ने काम भएको बताउनुभयो ।
यो अवस्थामा भर्खरै जारी भएको संविधान सहज रुपमा कसरी कार्यान्वयनमा ल्याउने, देशको जटिल परिस्थितिलाई कसरी समाधान गर्ने, भूकम्पले भत्काएको संरचनाको पुनःनिर्माण कसरी गर्ने र आधुनिक विकासमा देशलाई कसरी लैजाने भन्नेबारेमा बिजुक्छेसँग छलफल भएको ओलीले बताउनुभयो । भेटमा नेमकिपाका तर्फबाट पार्टी सचिव सुनिल प्रजापति र विदेश विभाग प्रमुख प्रेम सुवाल पनि सहभागी हुनुहुन्थ्यो ।
भारतले नेपालको संविधानका विषयमा बोल्नै नहुने कुरा बोलेको भन्ने समीक्षा गर्दै एमाले अध्यक्ष ओलीले देशका लागि राखेको स्ट्यान्डबाट पछि नहट्नेबारेमा कुराकानी भएको स्रोल जनाएको छ ।
मधेसी दलका कारण भारतलाई समस्या पारेको बताउँदै उहाँले ठूलो देशले सानो देशलाई गर्न नहुने काम भारतले गरेको निष्कर्षसमेत निकालेको उहाँको भनाइ छ ।
सरकार गठनमा आफूलाई समर्थन गर्न ओलीले आग्रह गरेको बताउँदै बिजुक्छेले राम्रो काम गरे समर्थन गर्ने वचन दिएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया