कोशी ब्यारेजमा आतंकवादी हमलाको डर देखाएर भारतीय सुरक्षा बढाइयो

काठमाडौं, ११ साउन । केही दिनदेखिको अविरल वर्षाको कारण कोशीको बहावले खतराको विन्दु पार गरेपछि जोखिम बढिरहेका बेला भारतीय सुरक्षाकर्मीहरुले आतंकबादी हमलाको सन्त्रास फैलाएर आफ्नो उपस्थिति बढाएका छन् ।
आतंकवादी संगठनहरुले भारतीय सीमा नाकामा पर्ने कोशी ब्यारेज भत्काइदिने धम्की आएको भन्दै भारतले सन्त्रास फैलाएको छ । आतंकवादीबाट आएको यस्तो धम्कीपछि कोशी ब्यारेजमा दुवै देशका सुरक्षा बढाइएको भनी सोमवार भारतको चर्चित समाचार च्यानल आजतकले खबर सम्प्रेषण गरेको थियो ।
नेपाली सुरक्षा अधिकारीहरुलाईसमेत उद्धृत गर्दै भारतीय आजतकले आतंकवादीहको धम्कीले दुवै देशका सुरक्षा अधिकारीहरुको ‘निदहराम’ भएको जनाएको थियो ।
सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछि भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई लिखितपत्र पठाएर कोसी ब्यारेजको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको समाचारमा जनाइएको छ ।
स्रोतकाअनुसा आतंकवादी हमलाको सन्त्राससँगै भारतीय सुरक्षाकर्मीहरु कोशी ब्यारेजको वारीपारी ठूलो संख्यामा परिचालन गरिएको छ । नेपालका सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार प्रकाशित गरिए पनि सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने त्यस्तो कुनै खतराको सूचना आफूहरुलाई नआएको बताए । कोशी ब्यारेजको सुरक्षार्थ प्रहरी चौकी रहेको र त्यसबाहेक अन्य कुनै सुरक्षा नबढाइएको पनि उनले बताए ।
सुपौल जिल्लाका डिएम बैजनाथ यादवले जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीलाई लिखित पत्र लेखेर आईसले कोसी ब्यारेज भत्काउने धम्की दिएको भन्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेपछि कोसी ब्यारेजमा प्रहरीको विशेष टोली परिचालन गरिएको बताइए पनि सुनसरी प्रहरी प्रमुख पोखरेलले सुनसरी प्रहरीलाई त्यस्तो कुनै सूचना नआएको बताए ।
भारतले नेपालको बदलिँदो राजनीतिक परिस्थितिको फाइदा उठाएर आफ्नो सुरक्षाकर्मीको उपस्थिति बढाउने षड्यन्त्र गरेको हुन सक्ने नेपालका राजनीतिक दलका नेताहरुले समेत आशंका गरेका छन् ।
कोशी ब्यारेजमा आतंकवादी हमला हुने धम्की आएको खबर सार्वजनिक भए लगत्तै एमाले नेता शंकर पोखरेलले कोशी ब्यारेजको सुरक्षाका नाममा भारतीय सुरक्षाकर्मीको उपस्थिति गराउने कोशिश पनि हुन सक्ने आशंका गरेका छन् ।
५६ वटा ढोका रहेको कोशी ब्यारेज कथंकदाचित भत्किएमा भारतलाई ठूलो नोक्सान पुर्याउँछ ।
तपाइँको प्रतिक्रिया