क्षयरोग अन्त्यका लागि सबै एकजुट होऔँ’ नाराका साथ यस वर्ष विश्व क्षयरोग दिवस मनाइँदै

क्षयरोग अन्त्यका लागि सबै एकजुट होऔँ’ नाराका साथ यस वर्ष विश्व क्षयरोग दिवस मनाइँदैछ । यसै अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले रोगको नियन्त्रणका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । सो कार्यक्रममा दिइएको जानकारीअनुसार चालु आवको आठ महिनामा एक हजार चार जना नयाँ क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्षमा एक हजार २०१ जना र अघिल्लो आवमा एक हजार १९५ जना क्षयरोगी भेटिएका छन् । क्षयरोगका कारण चालु आवमा १३ जनाको मृत्यु भएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले यसवर्ष भेटिएका नयाँ रोगीमध्ये ११९ जनामा रोग दोहोरिएको बताए । जिल्लामा रहेका ५७ वटा उपचार केन्द्र र १४ वटा प्रयोगशालामा ती नयाँ रोगी भेटिएको जानकारी दिए । ६ हजार ७ सय ६२ जनामा गरिएको खकार परीक्षणका क्रममा ती रोगी भेटिएको दुवाडीले बताए । क्षयरोगका बिरामीमध्ये १५ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा बढी ७ सय ९ जना रहेका छन् । दुवाडीका अनुसार ८२ प्रतिशतमा फोक्सो र १८ प्रतिशतमा अन्य अङ्गका क्षयरोगी छन् । परीक्षणबाट क्षयरोग प्रमाणित भएका बिरामीलाई जनस्वास्थ्य कार्यालय र मातहतका कार्यालयबाट नियमित औषधि खुवाउने गरिएको छ । बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाइने दुवाडीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले क्षयरोग निवारणका लागि बिरामीको परीक्षण गरी दैनिक उपचार गर्ने, तालिम सञ्चालन गरी समीक्षा गर्ने, दुर्गम स्थानमा माइक्रोस्कोपी क्याम्प सञ्चालन गर्ने, अनुगमन, निरीक्षण र विभिन्न सञ्चारमाध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्दै आएको बताए ।
तपाइँको प्रतिक्रिया