खाजा कार्यक्रमले चेपाङ बालबालिका आकर्षित
चितवनको विकट शक्तिखोर गाविस वडा नम्वर १ लटौलीमा रहेको एक स्कुलमा चेपाङ बालबालिकालाई खाजा कार्यक्रमले आकर्षित गराएको छ । स्कुलमा विद्यार्थीहरु नआउने समस्या रत्ननगरको रोटरी क्लवले खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थी भरिन थालेका छन् । राप्रावि लटौलीका प्रधानाध्यापक बृद्धिराज गिरीले खाजा कार्यक्रमले ५० प्रतिशत भन्दा बढी विद्यार्थी थपिएको जानकारी दिनुभयो । खाजा दिए बालबालिका स्कुल जान्छन् भन्ने नमूना उदाहरण रोटरीको यो कार्यक्रमले देखाएको छ । नियमित स्कुल आउँदा शैक्षिक नतिजा समेत बढेको गिरीको भनाई छ । पहाडी गाउँका केही स्कुलमा विभिन्न संघसंसथाले खाजा कार्यक्रम चलाएपनि सरकारी कार्यक्रम अझै जान सकेको छैन । अघिल्लो बर्ष खाजा कार्यक्रमका लागि आएको लाखौ रकम समेत प्रयोग नहुँदा फर्किएको छ । यो बर्ष खाजा कार्यक्रम लैजाने जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य बताउनुहुन्छ । ‘खाजा नहुँदा ५० प्रतिशत पनि विद्यार्थी आउँदैनथे अहिले त करिव करिव शत प्रतिशत विद्यार्थी आउँछन्, गिरीले भन्नुभयो,खाजाले बालबालिकालाई आकर्षण गरेको छ ।’ रोटरी क्लव अफ रत्ननगरले यहाँ २०६६ सालदेखि खाजा कार्यक्रम चलाएको छ । मासिक २० हजार उनीहरुको खाजाका लागि खर्च हुने गरेको रोटरी क्लवका सदस्य पूर्ण रिजालले बताउनुभयो । स्कुलमा अहिले १२५ जना बालबालिका पढ्छन् । सौ क्षेत्रमा रोटरीले लघु वित्त कार्यक्रम समेत सञ्चालन गरेर स्थानियको आयआर्जनमा समेत सहयोग गर्दै आएको छ । एकजना पर्यटन व्यवसायी शरद पाण्डेले सबै बालबालिकालाई स्टेशनरी र पोषक दिने प्रतिवद्धता समेत जनाउनुभएको रोटरी सदस्य रिजाल बताउनुहुन्छ ।
तपाइँको प्रतिक्रिया