खाद्यान्नको अभावबाट कोही कसैको अकालमा ज्यान नजाने : कृषि विकास मन्त्रालय

कृषि विकास मन्त्रालयले खाद्यान्नको अभावबाट कोही कसैको अकालमा ज्यान नजाने बताएको छ । सिंहदरबारमा शुक्रबार बसेको कृषि समितिको बैठकमा कृषि सचिव उत्तमकुमार भट्टराईले नेपालले भारतबाट प्रतिमहिना दुई अर्ब रुपैयाँको चामल आयात गरेको भन्दै खाद्यान्नको अभावबाट कोही कसैको अकालमा ज्यान नजाने बताउनुभएको हो । असोज ६ गतेदेखि नेपालमा भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि खाद्यान्न सञ्चितिको अवस्था के कस्तो छ भन्ने यथार्थ थाहापाउन समितिले कृषि मन्त्रालयसंग जानकारी मागेको थियो । बैठकमा उपप्रधान तथा कृषिमन्त्री बामदेव गौतमले कुनै पनि भूपरिवेष्टित देशलाई शक्ति राष्ट्रले नाकाबन्दी लगाउनु अहिलेको युग सुहाउँदो नभएको बताउनुभयो ।
नेपालमा समयसमयमा हुने बाढी, सुक्खा र असिनाबाट उत्पादनमा कमी हुन गई बेलाबखत खाद्यान्नको अभाव हुने गरेको छ । यद्यपि यस वर्षको असार महिनासम्म एक लाख ५५ हजार मेट्रिक टन खाद्यान्न बचत छ । मुलुकभर चामल करिब २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन हुने र ३४ लाख मेट्रिक टन खपत हुने अनुमान छ ।
तपाइँको प्रतिक्रिया