खेलकुदमन्त्रीबाट राजीनामा दिएका पौडेलले भने, ‘लोकमानले समानान्तर सरकार चलाए’

काठमाण्डु, १५ असोज– प्रधानमन्त्री सुशील कोइरालाको दिर्नेशनमा पदबाट राजीनामा दिएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानान्तर सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री कोइरालालाई बिहीबार बुझाएको राजीनामा पत्रमा उनले आयोगले आग्रहका आधारमा प्रधानमन्त्रीको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी आफूमाथि कारबाही सिफारिस गरेको उल्लेख छ ।
केशवकुमार विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्ति गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले मन्त्री पौडेललाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।
आयोग अध्यक्ष कार्कीले जनआन्दोलन दमन गरेकाले कारबाही गर्न रायमाझी आयोगले सिफारिस गरेको, मन्त्रिपरिषदले मुख्य सचिववाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरेको समेत राजीनामा पत्रमा स्मरण गराएका छन् ।
‘आयोगलाई सरकारमा कसलाई मन्त्री नाउने वा कसलाई हटाउने वा कुनै पदमा आयोगले चाहेको व्यक्तिलाई नियुक्त गर्नु पर्ने, नगरेमा पुर्वाग्रही भई गैरकानुनी रुपमा कारबाहाी गर्न आदेश दिने जस्तो समानान्तर सरकारको अभ्यास गर्ने अधिकार विद्यमान नेपालको संविधानले दिएको छैन’, राजीनामापत्रमा पौडेलले लेखेका छन्, ‘आयोगको यस्तै समानान्तर सरकार सञ्चालन गर्ने दुरासयबाट आजित भएर नै नेपालको संविधानमा आयोगले कथित अनुचित कार्यमा कारबाही गर्न नपाउने व्यवस्था समेत भएको विदितै छ । तसर्थ कुनै पनि संवैधानिक निकाय वा पदाधिकारीले प्रधानमन्त्रीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु वा प्रधानमन्त्रीलाई यसलाई कारबाही गर, उसलाई गर भनी आदेश दिने गरी समानान्तर सरकारको अभ्यास गर्न नपाउने व्यहोरासमेत जानकारी गराउन चाहान्छु ।’
संवैधानिक अंगको काम कारबाही र सिमासमेत संविधानले निर्धारण गरेको अवस्थामा उक्त सिमा र बन्देजको ख्याल नगरी असल आसयले गरेको कानून सम्मत कार्य वा निर्णयलाई दुष्परिणाम सच्याउने नाममा कार्यकारिी काममा नै हस्तक्षेप हुने गरी भएको निर्णयले भविष्यमा समेत राज्यका निकाय वा अंगहरुको बीचमा शक्ति सन्तुलन र नियन्त्रणको अवस्थामा बिचलन आउन गई राज्य सञ्चालनमा गम्भीर वाधा अवरोध आउन सक्ने भन्दै पौडेलले चिन्ता जनाएका छन् ।
आफूले सैद्धान्तिक, संवैधानिक तथा कानुनी आधारमा कुनै गल्ती नगरेको भए पनि प्रधानमन्त्रीको निर्देशनका आधारमा राजीनामा दिएको पौडेलले बताएका छन् ।
अख्तियारले पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई कारबाही सिफारिस गरेपछि प्रधानमन्त्रीले राजीनामा लिन निर्देशन दिएका थिए । पौडेलले राजीनामा दिए पनि प्रधानमन्त्री कोइरालाले ज्ञवालीलाई भने बर्खास्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया