गठबन्धनका केही नेताहरु आफुलाई महारथी ठान्ने गरेपनि उनीहरुको कुनै हुति छैन -केपी शर्मा ओली

काठमाडौं,३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलन एकीकृत गर्न खोजेपनि प्रचण्डले आफुलाई छुरी रोपेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र, एमालेमा समाहित भएको दाबी गर्दै आएका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा रहेको भन्दै उनले प्रचण्डले आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताए ।
उनले गठबन्धनले देशलाई हरेक हिसावले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमालेबाहेक अरुले नसक्ने पनि बताए । उनले एमालेलाई हराउन सजिलो नभएकाले गठबन्धन गर्नुपरेको र अदालतसमेत जानुपरेको भन्दै अभिमन्युलाई चक्रव्यूहमा पारेजस्तै एमालेलाई पार्न खोजेपनि नसक्ने बताए ।
ओलीले गठबन्धनका केही नेताहरु आफुलाई महारथी ठान्ने गरेपनि उनीहरुको कुनै हुति नभएको बताए ।
तपाइँको प्रतिक्रिया