गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं, असोज ६
गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको आरोप एमाले अध्यक्ष ओलीले लगाउनु भएको छ । पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आज उहाँले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको आरोप लगाउनुभएको हो ।
उहाँले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको बिरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताउनु भयो ।
उहाँले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिनुभयो । उहाँले नेपाली जनताले आगामी मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनतन्त्रलाई पराजित गरी नेकपा एमालेलाई सत्तामा स्थापित गर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानूनको राज नरहेको उल्लेख गर्दै संसदको सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गर्नुभयो । उहाँले जोडजामवाला गठबन्धनका गलत मनाशाय आगामी संसदले बोकेर हिँड्नपर्ने कुनै आवश्यक्ता नरहेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देश गृहमन्त्रीको घरबाट ल्याएको नभएको भन्दै २÷४ महिना कोही व्यक्ति गृहमन्त्री बन्यो भन्दैमा लोकतान्त्रिक प्रणालीलाई नष्ट गर्ने अधिकार नरहेको बताउनु भयो । उहाँले पक्राउ पूर्जी जारी नभइ प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु गलत भएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया