गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउँछु : एमाले उपमहासचिव गुरुङ

लमजुङ, भदौ २६
नेकपा एमालेका उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताउनु भयो ।
बेसीशहर–७ मा निर्मित शान्तिटोल तमु आमा तथा बाबा समूह भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताउनु भएको हो ।
एमालेका उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि र आफ्ना कार्यकालमा सुरु भएका तर अधुरा रहेका कामहरु पुरा गरि प्रदेश सरकारको औचित्य पुष्टि गर्न आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताउनुभयो ।
अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको पनि दाबी गर्नुभयो ।
संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै नभएको पनि उहाँको भनाई थियो ।
संघीयताका कारण गाउँगाउँका समस्या पहिचान सम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उहाँले बताउनुभयो ।
नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गर्नुभयो ।
अहिलेको गठबन्धनको सरकार बिरुद्ध एमाले एकलै लड्न सक्षम रहेको पनि उहाँको भनाइृ थियो ।
गठबन्धनको सरकार लोभिपापिको भुण्ड भएको र यो अलिकति भागबण्डामा तलमाथि हुनासाथ भत्किने पनि बताउनु भयो ।
तपाइँको प्रतिक्रिया