‘गाँठो’ भदौ ३१ मा फुकाउने गरि पोस्टर र शिर्ष गीत सार्वजनिक

काठमाडौँ ९, सुरज भुषाल निर्देशित फिल्म ‘गाँठो’ अब भदौ ३१ मा रिलिज हुने भएको छ । यसअघि भदौ २४ लाई तोकिएको रिलिज फरबदल गर्दै निर्माण टिमले फिल्मको रिलिज एक हप्ता पर सारेको हो । शनिबार आयोजित प्रेसमिटमा थीम सङ (शीर्ष गीत) र पात्र पोस्टर सार्वजनिक गरियो । जहाँ हरेक पात्रको परिचय गराइएको छ । फिल्ममा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल मुख्य भूमिकामा छन् । सम्बन्धलाई केन्द्रिय द्धन्द्ध बनाइएको सिनेमा नम्रताको डेब्यु प्रोजेक्ट हो । अभय र नाजिरलाई दुई परस्पर प्रेमी पात्रको रुपमा स्थापना गरिएको छ । थीम सङलाई अनुपम शर्माले संगीत र स्वर दिएका छन् । मानवीय सम्बन्धको जटिलता गीतको मर्म हो । ‘पात्रमा डुब्न इफोर्ट गरेकी छु । नाजिर, अभय र सुरजजीको सहयोगले डेब्यु कलाकार महसुस भएन’ नम्रताले संक्षिप्त प्रतिक्रिया दिइन् । डेब्यु निर्देशन मौनमा स्थापित अभिनेत्री नम्रता श्रेष्ठलाई लिएका सुरजले गाँठोमा नाम मिल्ने नयाँ नम्रतालाई लिएर चलाखी अपनाएका छन् । गाँठोमा डेब्यु एक्ट्रेस नम्रतालाई मनोविज्ञान विषयकी छात्राको रुपमा प्रस्तुत गरिएको छ । मौन र होस्टेल रिटन्र्स निर्देशन गरिसकेका भुषालको यो तेस्रो प्रोजेक्ट हो । ‘गाँठो’लाई आशातित फिल्मको दर्जामा राखिएको छ । फिल्मले पेन्टिङ (पानीचित्र) प्रतिस्पर्धा समेत गर्ने भएको छ । विद्यालय, कलेज र खुल्ला स्तरिय प्रतिस्पर्धामा सबैले आफ्नो भावना व्यक्त गर्न पाउने आशा निर्माण कम्पनी बटवाल इन्टरटेनमेन्टको छ । नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको फिल्ममा अरुणा कार्की र ध्रुव कोइरालाको समेत मुख्य अभिनय छ । प्रतीक गुरुङसँग मिलेर निर्देशक सुरजले पटकथा लेखेका हुन् ।
तपाइँको प्रतिक्रिया