गाढा मित्रता कायम गर्न र समृद्धिका लागि साझा क्षेत्रको पहिचान गर्ने आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य रहेको, अर्थमन्त्री विष्णुप्रसाद पौडेल

माघ २४,अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाढा मित्रता कायम गर्न र समृद्धिका लागि साझा क्षेत्रको पहिचान गर्ने आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीका सिलसिलामा विकास र आर्थिक विषयमा केन्द्रित भएर छलफल गरिने जानकारी दिनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ, घनिष्ठ, जीवन्त, पारस्परिक लाभ र सहयोगमा आधारित तथा आजको युगको माग अनुरुप हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको बताउँदै भविष्यलाई सोचेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउनुपर्छ भन्ने आत्मविश्वासका साथ आफूहरु प्रस्तुत हुने स्पष्ट गर्नुभयो । अर्थमन्त्री पौडेलले पुनःनिर्माण सन्दर्भमा भारतीय पक्षबाट भएको सहयोगको प्रतिबद्धतालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा गहन छलफल हुने जानकारी दिनुभयो । भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजनाको समीक्षा, सहमति भएका विकासका आयोजनाको तीव्र कार्यान्वयन र साझा समृद्धिका क्षेत्रको पहिचान गर्ने विषयमा विस्तृत रुपमा विचार विमर्श हुने पनि उहाले बताउनुभयो । नयाँ दिल्लीमा रहँदा उहाँले खास गरी भारतीय अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजलगायत नेतासँग दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा केन्द्रित रहेर छलफल गर्नुहुने छ । अर्थमन्त्री पौडेलका साथ अर्थ सचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत हुनुहुन्छ । भारत भ्रमण सकेर नेपाली टोली आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रिया