गायककार दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान

साउन १५ , काठमाडौँ
गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ । स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ ।
कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।
सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले गायक थापाको ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो ।
प्रतिष्ठानले थापाको नाममा काटेको पत्रमा लेखिएको छ, ‘‘यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र इमान्दारिता नै ठूलो हो, न कि पैसा र चर्चा ।’
संस्थाको आग्रहलाई वास्ता नगरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ । प्रतिष्ठान स्रोतका अनुसार सोही गीतको विषयलाई लिएर आइतबार प्रतिष्ठान केन्द्रीय कमिटीको बैठक समेत डाकिएको छ ।
‘सरकारी तवरबाटै यस्ता गीत ल्याउनेलाई कारवाही हुनुपर्ने प्रतिष्ठानको धारणा छ । ती पदाधिकारीले भने, ‘हामीले नैतिक रुपमा भन्ने हो । अनुरोध गर्ने हो । नमानेर कोही नाङ्गै हिड्छ भने हामीले गर्ने के ?’
तपाइँको प्रतिक्रिया