गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंसँग राख्ने

काठमाडौँ, माघ १४
गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंसँग राख्ने बताएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले शुक्रबार खारेज गरेपछि उनी पदमुक्त भएका छन् । यद्यपि उनले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा काम गर्न सजिलो हुने कारण देखाउँदै अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने बालुवाटार स्रोतले जनाएको छ ।
लामिछाने पदमुक्त भएपछि दाहाल र एमाले अध्यक्ष ओलीबीच शनिबार छलफल हुनेछ । त्यसपछि सत्ता गठबन्धनको बैठकमा यसबारे निर्णय गर्ने तयारी छ । प्रधानमन्त्री नियुक्त भएपछि दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने चाहना हुँदाहुँदै गठबन्धन दलबीच भागबन्डा मिलाउन लामिछानेलाई गृहमन्त्री नियुक्त गरेका थिए । ‘शक्तिशाली’ मन्त्रालय नराखेकामा माओवादीभित्र दाहालको आलोचना भएको थियो ।
माओवादी सचिव समेत रहेका लीलामणि पोखरलेले अब गृह मन्त्रालय माओवादीले राख्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री जुन पार्टीको हुन्छ, त्यही पार्टीले गृह र अर्थ मन्त्रालय राख्नुपर्ने हो । अरू नभए पनि अब गृह मन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्छ ।’ उहाँको भनाइृ थियो ।
तपाइँको प्रतिक्रिया